चैत्र–९, चट्याङ लागेर खोटाङमा एक जनाको ज्यान गएको छ । बिहिबार साँझ परेको चट्याङ लागेर चिसापानी–९ का ४१ वर्षीय चन्द्रबहादुर खड्का ‘कुमार’को ज्यान गएको हो । 
चट्याङबाट खड्काको ४० वर्षीया श्रीमती गंगा खड्का ‘मिट्ठी’ र पाँच वर्षीया छोरा बिबेक खड्का गम्भीर घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक राजीव बस्नेतले जानकारी दिनु भयो । शरीर जलेर घाईते बनेका आमा र बच्चाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छिमेकी पुष्प राईले जानकारी दिनु भयो । 
चट्याङका कारण लागेको आगलागीमा खड्का परिवारको घर र घरभित्र राखिएका धनमाल, अन्नपात, नगद जल्दा दश लाख ४० हजार बराबरको क्षती भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । 
आगलागीमा खड्काको पाँच वटा बाख्रा डढेर मरेको स्थानीय गोपाल सुनुवारले बताउनु भयो । चट्याङका कारण लागेको अगलागीबाट घर जलेपछि खड्काको पाँच जना छोरा, दुई छोरी र श्रीमतीको बिचल्नी भएको छ ।