चैत्र–९, खोटाङमा नावालकमाथि सार्वजनिक मुद्धा चलाइएको र हत्कडी लगाइएको भन्दै उसका अबिभाबकले बिरोध गरेका छन् । कुटपिट गरेको आरोपमा बाक्सिला–६ का १४ वर्षीय असिम राईलाई प्रहरीले सार्वजनिक मुद्धा चलाएको र हत्कडी लगाएको भन्दै अबिभाबकले बिरोध गरेका हुन् । 
बालबालिका ऐनको दफा १५ बिपरित नावालकलाई हत्कडी हालिएको भन्दै असिमका आमा सत्यदेबी राई र भाउजु बिष्णुकुमारी राईले शुक्रबार राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङमा उजुरी दिनु भएको छ । कुटपिट गरेको भन्दै स्थानीय किशोर राईले दिएको उजुरीका आधारमा असिमलाई प्रहरीले पक्राउ गरेको छ । 
किशोरले गत चैत्र–१ गते आमा सत्यदेबी र भाउजु बिष्णुकुमारीमाथि कुटपिट गरिरहेको अवस्थामा छुट्याउन गएका असिमलाई पनि कुटपिट गरेका किशोरले उल्टै असिमबिरुद्ध सार्वजनिक मुद्धा हालेको उजुरीमा उल्लेख छ । 
जिल्लास्थित राजनैतिक दल, जिल्ला प्रशासन कार्यालय तथा सञ्चार माध्ययमलाई बोधार्थ दिइएको उजुरीमा आगामी चैत्र–११ गतेदेखि शुरु हुने कक्षा ९ को परिक्षामा असिमलाई सामेल हुनबाट बञ्चित नगराउनकालागि आग्रह गरिएको छ । 
उजुरीसँगै राखिएको जन्मदर्ताको प्रमाणपत्रमा असिमको जन्म मिती २०५५ साल पुस–२१ गते उल्लेख छ । प्रहरीले भने हत्कडी नलगाइएको बताएको छ । म्याद थप गरी सार्वजनिक मुद्धा चलाइए पनि हत्कडी नहालिएको प्रहरी नायब उपरिक्षक राजीव बस्नेतले बताउनु भयो ।