चैत्र–१३, भवन अभावमा खोटाङको अर्खौले–२ मा रहेको हिमगंगा प्राविले खुला चउरमा पठन पाठन सञ्चालन गर्दै आएको छ । गत वर्ष आएको भुकम्पका कारण भवन भत्किए यता विद्यालयले विद्यार्थीलाई खुला चउरमा राखेर पठन पाठन सञ्चालन गर्दै आएको व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर पुरीले बताउनुभयो । 
खुला चौंरमा त्रिपाल टाँगेर कक्षा ३ र बालविकास केन्द्रमा अध्यायनरत विद्यार्थीलाई पढाउने गरिएको विद्यालयले जनाएको छ । हाल कक्षा ५ सम्म पठन पाठन भइरहेको विद्यालयमा १ सय ३५ जना विद्यार्थीहरु अध्यायनरत छन् । 
जिल्ला शिक्षा कार्यालयको सहयोगमा २०५६ सालमा बनाइएको दुई कोठे भवनमध्ये एक कोठामा प्रशासन र एक कोठामा कक्षा १ का विद्यार्थीलाई राखेर पठन पाठन भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरीको भनाई छ । विद्यालयको भवन श्रमदानबाट २०५० सालमा निर्माण गरिएको व्यवस्थापन समितिले जनाएको छ ।