चैत्र–१५, विद्यार्थीहरुले विभिन्न माग राख्दै हिजो खोटाङको रावा क्याम्पस बन्द गराएका छन् । तीन दिनभित्रमा नियमित पठन–पाठन हुनुपर्ने, व्यवस्थापनमा सुधार ल्याइनुपर्ने, आर्थिक पार्दशीता हुनुपर्ने, लाईब्रेरीको व्यवस्था गरिनुपर्नेलगायतका माग राख्दै खार्पाको रावा क्याम्पस बन्द गराएका हुन् । 
आफूहरुको माग पूरा नभएमा तीनदिनपछि अनिश्चितकालिन बन्द गर्ने विद्यार्थीहरुले चेतावनी समेत दिएका छन् । परीक्षा हुने समय भइसक्दा पनि पढाइ नभएपछि आफूहरुले क्याम्पस बन्द गराएको विद्यार्थीहरुले जनाएका छन् । क्याम्पस प्रमुख तथा अन्य प्राध्यापकहरु समेत क्याम्पसमा नआउनाले आफूहरु मर्कामा परेको विद्यार्थीहरुले प्रशासनमा पेश गरेको माग पत्रमा उल्लेख छ । 
उता, यसबारेमा आज सर्वपक्षीय बैठक बोलाएर छलफल गर्ने निमित्त क्याम्पस प्रमुख चुँडामणि रेग्मीले बताउनुभएको छ । विद्यार्थीहरुको माग जायज भएको भन्दै तत्काल सम्बोधन गर्ने विषयमा पहल थालिने उहाँको भनाइ छ । 
स्नातक तहसम्म पढाइ हुने रावा क्याम्पसमा हाल दुई सय ५० बढि विद्यार्थीहरु अध्ययनरत छन् ।