चेत्र–१६, कमिसन नदिएको झोकमा जिल्लास्थित एक समूहद्वारा एक काष्ठ व्यवसायी निर्घात कुटिएका छन् । 
उदयपुर त्रियुगानगर पालिका–२ का ३५ वर्षीय जनार्दन रेग्मीलाई कुटपिट गरेका हुन् । रेग्मीको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । उनको देब्रे हात भाचिनुका साथै टाउकोमा गहिरो चोट लागेको छ । उनलाई थप उपचारका लागि काठमाडौ लाने तयारी भइरहेको रेग्मीको आफन्तले बताएका छन् ।
रेग्मीले खयर निकासी वापत कमिसन नदिएको भन्दै बुइपा–२ का सुनिल राई लगायतका १५–२० जनाका समूहले बिहीबार बेलुकी कुटपिट गरेका हुन् । उनीहरुले खयर लिन बोलाएर रेग्मीलाई कुटपिट गरेको पिडीतका आफन्तले जनाएका छन् । 
रेग्मीलाई कुटपिटपछि बिहीबार रातभरि नियन्त्रणमा लिएका थिए । ‘मलाई बोतल, चिर्पट दाउरा, बक्सिङ लगायतले कुटे अनि मर्ने अवस्था भएपछि अपहरण गरेर लगे ।’ रेग्मीका सहयोगी विकास बिकले भने–‘मोबाइल पनि खोसिएपछि कसैलाई जानकारी गराउन पनि पाइएन ।’ विकका अनुसार कसैलाई खबर गरे ज्यान लिने धम्की समेत दिएका थिए । कुटपिटमा संलग्न सुनिल राई र सल्लेका रबि राई बिहीबार राती पक्राउ परेको प्रहरी निरीक्षक दुर्गा रेग्मीले बताउनु भयो ।
रेग्मीको साथबाट तीन लाख ६० हजार नगद, दुई थान मोबाइल, एक थान सोनी डिजिटल क्यामेरा, राष्ट्रिय वाणिज्य बैंकको चेक, ग्लोबल बैंकको चेक र एटिएम, मोटर साइकलको ब्यूबुक र लाइसेन्स्, नागरिकता र खयरधनिहरुको जग्गाधनि प्रमाणपूर्जा लगायतका कागजात लुटेर लगेको प्रहरीले जनाएको छ ।
रेग्मीलाई कुटपिटपछि रेग्मीले प्रतिकेजी तीन रुपैयाका दरले कमिसन लिदै आएका उनीहरुले यो पटक सात रुपैयाले मागेको र कुरा नमिलेपछि आफूमाथि कुटपिट गरेको रेग्मीले सुनाए । यसअघि सुनिल लगायतले दुई लाख ६० हजार रुपैया कमिसन लिइसकेको रेग्मीले सुनाउनु भयो ।
यो समूहले यसक्षेत्रमा आतंक मच्याउदै आएको स्थानीय कुमार बुढाथोकीले बताउनु भयो । उहाका अनुसार राजनीतिक आडमा सुनिलले आतंक मच्याउदै आएका थिए । यसअघि पनि माहुरे फोक्सिङटार सडक खण्डमा काम गर्ने कामदारहरुलाई दुःख दिदै आएका थिए । कामदारहरुको रकम समेत लुटेर लगेको बुढाथोकीले बताउनु भयो ।