चैत्र–१८, कमिसन नदिएको भन्दै खोटाङका डन समूहले खयरको काष्ठ व्यवसायीलाई निर्घात कुटपिट गरेका छन् ।

डन समूहले उदयपुर त्रियुगानगर पालिका–२ का ३५ वर्षीय जनार्दन रेग्मीलाई कुटपिट गरेका हुन् । रेग्मीको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । निर्घात कुटिएका रेग्मीको देब्रे हात भाचिनुका साथै टाउकोमा गहिरो चोट लागेको छ । जिल्ला अस्पतालमा उपचार भइरहेको रेग्मीको उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौ लाने तयारी भइरहेको रेग्मीको आफन्तले बताएका छन् ।

रेग्मीले खयर निकासी वापत कमिसन नदिएको भन्दै बुइपा–२ का सुनिल राई र सल्लेका रबि राईलगायतका १५–२० जनाका समूहले बिहीबार बेलुकी कुटपिट गरेका थिए । उनीहरुले खयर लिन बोलाएर रेग्मीलाई कुटपिट गरेको पिडीतका आफन्तले जनाएका छन् । अस्पतालमा उपचाररत रेग्मीले भन्नुभयो, ‘मलाई बोतल, चिर्पट दाउरा र बक्सिङले कुटे अनि अचेत अवस्थामा पुगेपछि अपहरण गरेर लगे ।’

रेग्मीलाई कुटपिट गर्नमा संलग्न सुनिल राई र रबि राईलाई बिहीबार राती नै आफूहरुले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक दुर्गा रेग्मीले बताउनुभएको छ ।

निर्घात कुटिएका रेग्मीका सहयोगी विकास बिश्वकर्माले भन्नुभयो ‘मोबाइल पनि खोसिएपछि कसैलाई जानकारी गराउन पनि पाइएन ।’ विश्वकर्माका अनुसार कसैलाई खबर गरे ज्यान लिने धम्की समेत दिएका थिए ।

कमिसन नदिएको झोकमा डनद्वारा कुटिएका उदयपुर त्रियुगानगर पालिका–२ का ३५ वर्षीय जनार्दन रेग्मी जिल्ला अस्पताल दिक्तेलमा उपचार गराउदै । तस्बिर: केदार मगर/खोटाङ

रेग्मीको साथबाट तीन लाख ६० हजार नगद, दुई थान मोबाइल, एक थान सोनी डिजिटल क्यामेरा, राष्ट्रिय वाणिज्य बैंकको चेक, ग्लोबल बैंकको चेक र एटिएम, मोटर साइकलको ब्यूबुक र लाइसेन्स्, नागरिकता र खयरधनिहरुको जग्गाधनि प्रमाणपूर्जा लगायतका कागजात लुटेर लगेको रेग्मीका आफन्तले जनाएका छन् । रेग्मीलाई कुटपिटपछि रेग्मीले प्रतिकेजी तीन रुपैयाका दरले कमिसन लिदै आएका उनीहरुले यो पटक सात रुपैयाले मागेको र कुरा नमिलेपछि आफूमाथि कुटपिट गरेको रेग्मीले बताउनुभयो । यसअघि सुनिल लगायतले दुई लाख ६० हजार रुपैया कमिसन लिइसकेको रेग्मीको भनाइ छ ।

ती समूहले यसक्षेत्रमा आतंक मच्याउदै आएको स्थानीय कुमार बुढाथोकीले बताउनुभएको छ । उनका अनुसार राजनीतिक आडमा सुनिलले आतंक मच्याउदै आएका हुन् । यसअघि पनि माहुरे फोक्सिङटार सडक खण्डमा काम गर्ने कामदारहरुलाई दुःख दिदै आएका थिए । आफूहरुको रकम समेत लुटेर लगेको कामदारहरुको आरोप छ ।

जाहेरीका लागि वकिल पाएनन्

डन आतंकका कारण जिल्लास्थित वकिलहरुले कुटपिटको जाहेरी लेख्न नमानेको पिडीतहरुले गुनासो गरेका छन् । असुरक्षाको महसुस गर्दै आफूहरुले निवेदन लेख्न नसक्ने भनेपछि पिडीत निरास बनेका छन् । बिहीबार पक्राउ परेका दुई जना विरुद्ध जाहेरी नपर्दा समस्या भएको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ । जाहेरी नपरेपछि आफूहरुको नियन्त्रणमा रहेकाहरुलाई कार्वाहीको प्रक्रिया अगाडि बढाउन गाह्रो भएको उहाँले बताउनुभयो ।