बैशाख–४, गाउँमा कुलत तथा दुव्र्यासनीलाई न्यूनीकरण गर्नकालागि खोटाङको बुइपाका युवाहरुले ‘धुम्रपान तथा मद्यपान त्याग गर्ने’ अभियान थालेका छन् । 

मद्यपान र धुम्रपानका कारण व्यक्तिगत तथा सामाजिकरुपमा हुने हानीनोक्सानीबाट सबैको बचाउकालागि बुइपाका युवाहरुले स्वःत स्फूर्तरुपमा ‘धुम्रपान तथा मद्यपान त्याग’को अभियान थालेका हुन् । 
‘अरुलाई परिवर्तन गर्नुछ भने पहिला आफै परिवर्तन हुनुपर्छ’ भन्ने नारासहित स्थानीय सामाजिक संस्था भरोसा नेपालको पहलमा थालिएको अभियानमा गाविसका २८ जना युवाहरुले स्वःत स्फुर्तरुपमा धु्रमपान तथा मद्यपान त्याग गरेको घोषणा समेत गरेका छन् । 
संस्थाको आयोजनामा गरिएको एक सार्वजनिक कार्यक्रममा धुमपान तथा मद्यपानका फाईदा र बेपाईदाका बारेमा चर्चा गरिएपछि धु्रमपान तथा मद्यपान सेवन गर्दै आएका गाविसका युवाहरुले स्वःत स्फूर्तरुपमा धुमपान तथा मद्यपान त्यागको घोषणा गरेका हुन् ।
गाविसका सबै नागरिकको जमघट गर्न र अभियानको थालनी गर्नकालागि भरोसा नेपालले नयाँ वर्षको अवशरमा खेलकुदमूलक कार्यक्रमको आयोजना गरेको थियो । धुमपान तथा मद्यपान त्यागको घोषणा गर्दै अभियानमा सहभागी बनेका युवाहरुलाई अबिर लगाएर स्वागत तथा सम्मान गरिएको संस्थाका अध्यक्ष राजकुमार राईले जानकारी दिनुभयो । 
गाउँमा कुलत तथा दुव्र्यसनीलाई न्यूनीकरण गर्नकालागि चेतनामूलक सडक नाटक तथा अन्तरक्रिया गर्ने तयारी भइरहेको अध्यक्ष राईले बताउनुभयो ।