बैशाख–८, जिल्लामा बिद्यार्थीलाई यातायात सेवामा ४५ प्रतिशत छुटको व्यवस्था कार्यन्वयन गर्ने सहमती भएपछि अनेरास्वबियु खोटाङले यातायात बन्द फिर्ता लिएको छ ।
बन्द आव्हान गरिएपछि जिल्ला प्रशासन कार्यालयमा आईतबार दिउँसो बसेको निमित्त प्रमुख जिल्ला अधिकारी, यातायात व्यवसायी संघ तथा अनेरास्वबियुका पदाधिकारीबीचको त्रिपक्षीय वार्तामा जिल्लाका बिद्यार्थीलाई यातायात सेवाको भाडा दरमा ४५ प्रतिशत छुटको व्यवस्था कार्यन्वयन गर्ने सहमती भएपछि अनिश्चितकालिन यातायात बन्द खुलेको हो ।
नेपाल सरकार तथा यातायात व्यवसायी महासंघबीच केन्द्रमा भएको सम्झौता अनुशार जिल्लाका बिद्यार्थीलाई पनि यातायात भाडामा ४५ प्रतिशत सहुलियत दिने सहमती भएपछि यातायात सेवा खुलाइएको अनेरास्वबियु खोटाङका संयोजक मिलन राईले बताउनु भयो । त्रिपक्षीय वार्तामा लामो दुरीमा चल्ने एक बस बराबर दुई वटा सिट बिद्यार्थीकालागि छुट्याउने पनि सहमती भएको छ । सहमती अनुशार अब खोटाङमा बिद्यार्थीहरुले यातायात भाडा दरमा ४५ प्रतिशत छुट पाउने भएका छन् । यातायात बन्द फिर्ता भएपछि जिल्लामा ठप्प भएका यात्रु तथा मालबाहक सवारी साधानहरु पुःन सञ्चालनमा आएका छन् ।
जिल्लामा विद्यार्थीलाई यातायात, स्वास्थ्य र मनोरञ्जनमा ४५ प्रतिशत छुटको व्यवस्थालाई कार्यन्वयन नगरेको भन्दै आन्दोलनमा उत्रिएको अनेरास्वबियुले जिल्लाको यातायात सेवा अनिश्चित कालकालागि बन्द गरेको थियो । ४५ प्रतिशत छुटको व्यवस्था कार्यन्वयनमा ल्याउन दिएको हप्ता दिनको अल्टिमेटनभित्र आफ्नो मागलाई सम्बोधन नगरिएको बिरोधमा अनेरास्वबियुका नेता तथा कार्यकर्ताहरुले आईतबार बिहान पाँच बजेदेखि नाराजुलुससहित दिक्तेल बजार परिक्रमा गर्दै चोक–चोकमा टायर बालेर यातायात बन्दको आव्हान गरेका थिए ।
विद्यार्थीलाई यातायात, स्वास्थ्य र मनोरञ्जनमा तोकिए अनुशारको छुटको व्यवस्था कार्यन्वयनको माग गर्दै अनेरास्ववियुले गत चैत्र–३० गते हप्ता दिनको अल्टिमेटम दिएको थियो । अनेरास्वबियूले गत वर्ष पनि यातायात, स्वास्थ्य र मनोरञ्जनमा ४५ प्रतिशत छुटको व्यवस्था कार्यन्वयन गर्न माग गरेको थियो । अनेरास्वबियुको आन्दोलनप्रति युवा संघ खोटाङले पनि ऐक्यबद्धता जनाएको थियो ।