बैशाख–११, प्रहरीले आफ्नो गाउँका युवालाई कुटपिट गरेको बिरोधमा स्थानीयबासीले अवरुद्ध बनाएको ओखलढुंगाको जयराम–हिलेपानी सडक सुचारु भएको छ । रामनवमी मेला भर्न खोटाङको हलेसी आएका ११ जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको बिरोधमा ओखलढुंगा थाक्लेका स्थानीयबासीले अवरुद्ध बनाएको जयराम–हिलेपानी सडक बुधबार बिहानदेखि सुचारु भएको हो । 
जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गा, जिल्ला प्रहरी कार्यालय खोटाङ र थाक्लेका स्थानीय बन्दकर्ताबीच मंगलबार राती अबेर खोटाङको हलेसीमा भएको त्रिपक्षीय वार्तामा आगामी बैसाख–२० गतेसम्ममा घटनाको बिषयमा छानविन गर्ने र सो अनुशार कानूनी प्रकृया अघि बढाउने सहमती भएपछि सडक खुलाइएको प्रहरीले जनाएको छ । 
प्रहरीले युवाहरुलाई नियन्त्रणमा लिएर गत शनिबार निर्घात कुटपिट गरेको बिरोधमा थाक्लेबासीले गत सोमबारदेखि खोटाङ र ओखलढुंगाको सिमामा पर्ने जयरामदेखि ओखलढुंगाको हिलेपानी सम्मको सडक बन्द गरेका थिए । बन्द रहेको सडक सुचारु भएपछि खोटाङबाट राजधानी काठमाडौं, पुर्वी नेपाल तथा तराई आवत जावत गर्ने मालबाहक तथा यात्रुबाहक सवारी साधनहरु यथावत चल्न थालेका छन् । 
प्रहरीको कुटपिटबाट खोटाङको बाहुनीडाँडा–९ का ३५ वर्षीय दिनेश राईको खुट्टा र थाक्ले थाक्ले–६ का गन्जुराम राईको हात भा“चिएको उनीहरुको आरोप छ । घाईते दिनेशको काठमाण्डौंस्थित अर्थोपेडिक अस्पताल र गन्जुरामको ओखलढुंगा मिसन अस्पतालमा उपचार भइरहेको छ । हलेसीस्थित श्रीराम कपडा पसलमा सामान्य भनाभन भएको विषयलाई लिएर उनीहरुलाई प्रहरीले कुटपिट गरेका थिए । 
प्रहरीले कुटपिट गरी गम्भिर घाईते बनाए पनि भागेर लड्दा घाईते बनेको फर्जी कागजमा हस्ताक्षर गराएर छाडेको स्थानीयबासीको आरोप छ । यद्यपी, प्रहरीले भने भाग्नेक्रममा उनीहरु घाईते भएको बताएको छ ।