बैशाख–१३, नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष टंक राईले वर्तमान सरकारले कुनै पनि हालतमा निर्वाचन गराउन नसक्ने बताउनुभएको छ । 
नेकपा एकीकृत र नेकपा मालेबीच एकीकरणपछि सदरमुकाम दिक्तेलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । 
प्रधानन्यायाधिस खिलाराज रेग्मी नेतृत्वको वर्तमान सरकार राजनीतिक र संवैधानिक हैसियत नभएको सरकार भएकाले चुनाव गराउन नसक्ने उहाँले दावी गर्नुभयो । यसका लागि तत्काल राजनीतिक दलको नेतृत्वमा सरकार गठन गर्नुपर्ने र सोही सरकारेले मात्रै वर्तमान अवस्थामा निर्वाचन सम्पन्न गराउने बताउनुभयो ।
चारदलीय सिण्डिकेटले गर्दा मूलुक संक्रमणकाल तर्फ धकेलिएको आरोप लगाउँदै उपाध्यक्ष राईले यिनै चार राजनीतिक दलले संविधान सभा विघटन गरेको दावी गर्नुभयो । वहालवाला प्रधानन्यायाधिस रेग्मीको नेतृत्वमा चुनावी मन्त्रिपरिष्दको सरकार गठन गरिनु बैदेशिक हस्तक्षेपको चरमरुप मात्र नभइ ०६२÷६३ को जनआन्दोलनको भावना विपरित भएको उल्लेख गर्नुभयो ।
एक अर्को प्रशंगमा उपाध्यक्ष राईले भन्नुभयो, ‘सर्वहारा वर्गको नेतृत्व गर्छौं भन्ने ठूला कम्युनिष्टहरु असफल सिद्ध भइसकेकाले अव यसको नेतृत्व आफ्नो पार्टीले लिनेछ ।’ नेपालमा जनवादी गणतन्त्र स्थापना गर्नका लागि आफूहरुको पार्टीले अधिकतम लक्ष्य, वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्ने दावी गर्नुभयो ।