बैशाख–१४, मादक पदार्थको बढ्दो प्रयोगलाई नियन्त्रण गर्न खोटाङको खाल्लेस्थित नागरिक सचेतना केन्द्रले गाउँमा जाँड रक्सी बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाएको छ । 
आफ्नो गाउँलाई मदिरारहित क्षेत्र बनाउने उद्धेश्य सहित सरस्वति नागरिक सचेतना केन्द्र खाल्ले–६ ले जाँड रक्सी बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाएको हो । जाँडरक्सीको अधिक प्रयोगबाट व्यक्तिगत तथा सामाजिकरुपमा हुने हानीनोक्सानीबाट सबैको बचाउ गर्दै गाउँमा कुलत तथा दुव्र्यासनी न्यूनीकरण गर्नकालागि मादक पदार्थ बिक्रीबितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको स्थानीय सामाजिक परिचालक देबिका बस्नेतले जानकारी दिनुभयो । 
गाउँमा खुलेआम बिक्रीबितरण हुने जाँडरक्सीका कारण समाजमा झै–झगडा, हो–हल्ला तथा बिकृति फैलिन थालेपछि त्यसलाई रोकथाम गर्न गाउँमा मादक पदार्थ निषेध अभियान थालिएको नागरिक सचेतना केन्द्रले जनाएको छ । 
आफ्नो नियम बिपरित मदिरा बिक्री तथा सेवन गर्नेहरुलाई कडा कारबाही गर्ने तयारी गरिएको सामाजिक परिचालक बस्नेतको भनाइ छ । मादक पदार्थको प्रयोग गर्नै पर्ने अवस्थामा सिमामा रहेर प्रयोग गर्न केन्द्रले सबैलाई आग्रह गरेको छ । 
स्थानीय शासन तथा सामुदायीक बिकास कार्यक्रम (एलजिसिडिपि) अन्तरगत गठन भएको सचेतना केन्द्रले वडानागरिक मञ्चको सहयोगमा मदिरा निषेध अभियान थालेको हो ।