बैशाख–१९, मलेसियामा ज्यान गुमाएका सिंहराज राईको शव दुई महिनापछि नेपाल ल्याइएको छ । 
क्वालालम्पुरस्थित ‘द वेस्ट रेन्टल सर्भिस एचबीएनबीएचबी’ कम्पनीबाट भागेर होटलमा काम गर्नेक्रममा ज्यान गुमाएका खोटाङको खिदिमा–६ का २३ वर्षीय सिंहराज राईको शव दुई महिनापछि नेपाल ल्याइएको हो । 
पेट दुख्ने र झाडापखाला लाग्ने लक्षण देखिने रोगका कारण गत फागुन–१५ गते सुतेकै ठाउँमा ज्यान गुमाएका राईको शव बैदेसिक रोजगार प्रवर्धन बोर्डको सहयोगमा नेपाल ल्याइएको सुरक्षित आप्रवासन सूचना केन्द्र खोटाङले जनाएको छ । अहिले मृतक परिवारको क्षतीपूर्तीकालागि पहल भइरहेको सूचना केन्द्रका कार्यक्रम संयोजक भक्त राईले जानकारी दिनुभयो । 
क्वालालम्पुरस्थित केलाङ अस्पतालमा उपचारकोक्रममा राईको ज्यान गएको थियो । अबैध काम गर्नेक्रममा ज्यान गुमाएका कारण शव नेपाल फर्काउन समस्य भएको थियो । राई बैदेसिक रोजगारीका सिलसिलामा काठमाडौंको लगनखेलस्थित अरुण मेनपावर कम्पनीमार्फत एक वर्षअघि मलेसिया पुग्नुभएको थियो ।
राईको शव नेपाल ल्याइएपछि परिवारले पाउने राहत रकम र बीमाको लागि बोर्डले पहल गरिरहेको केन्द्रले जनाएको छ ।