बैशाख–२३, खोटाङमा आगामी बैशाख–२८ गतेबाट गरीब घरपरिवार पहिचान गरिने भएको छ । 
विभिन्न क्षेत्रबाट पिछडिएका बिपन्न घरपरिवार पहिचान गरि राज्यको सेवा र सुविधा जनस्तरसम्म पु¥याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिने भएको हो । सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तरगत जिल्ला विकास समितिमार्फत सञ्चालन हुने कार्यक्रम जिल्लाका ७६ वटै गाविसमा सञ्चालन हुनेछ । 
पहिलो चरणमा मूलुकको २५ जिल्लामा सञ्चालन भएको कार्यक्रम पुर्वको खोटाङ, ओखलढुङ्गा र सिरहामा एकैसाथ सञ्चालन गर्न लागिएको हो । 
यसका लागि जिल्लाका सबै गाविसमा कार्यरत सामाजिक परिचालकहरु परिचालन गरिने स्थानीय विकास अधिकारी युवराज अधिकारीले जानकारी दिनुभयो । एक महिनासम्म सञ्चालन हुने कार्यक्रममा गाविसका प्रत्येक घरपरिवारको विवरण संकलन गरिने उहाँको भनाइ छ । यस्तै, गणकले सम्बन्धीत निकायसम्म पुगेर सत्यतथ्य तथ्याङ्क संकलन गरेनगरेको बारेमा सुपरीवेक्षणसमेत गरिने जिल्ला विकास समितिले जनाएको छ ।  
यसैवीच, उक्त विषयमा जिल्लाका राजनीतिक दल, नागरिक समाज र पत्रकारहरुसँग  अन्तरक्रिया गरिएको छ । जिल्ला विकास समिति खोटाङको आयोजनामा भएको कार्यक्रममा सहकारी तथा गरिबी निवारण मन्त्रालयका शाखा अधिकृत महेन्द्र खाम्याङले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताएका छन् । 
नेपालमा हाल करिब १२ लाख ५० हजार घरपरिवार गरिब रहेका छन् भने, ७० लाख मानिस गरिबीको रेखामुनी रहेको तथ्याङ्कमा उल्लेख छ ।