बैशाख–२४, छिमेकीमाथि कुटपिट भएको बिरोधमा खोटाङको नुनथलाका स्थानीयबासीले दिक्तेल–जयरामघाट सडक अवरुद्ध बनाएका छन् । 
उदयपुरको कटारीबाट दिक्तेलतर्फ आउनेक्रममा नुनथला–४ का ३७ वर्षीय राम राईलाई नचिनिएका व्यक्तीहरुको समुहले खोटाङको अर्खौलेस्थित नागीमा रोकेर निर्घात कुटपिट गरेको बिरोधमा स्थानीयबासीले सडक अवरुद्ध बनाएका हुन् ।
कुटपिटमा संलग्न समुहको पहिचान गरी कारवाही गर्न र क्षतीपूर्तीको माग गर्दै नुनथलाका स्थानीयबासीले सडक बन्द गरेको बताएका छन् । स्थानीयबासीले सोमबार बिहानदेखि आव्हान गरेको बन्दका कारण सदरमुकाम दिक्तेलबाट तराईतर्फ जाने यात्रुहरु मारमा परेका छन् । 
बा २ ख ५४१८ नम्बरको यात्रुबाहक बसमा यात्रु लिएर सदरमुकाम दिक्तेल आउनेक्रममा गाडी मालिक समेत रहेका राईलाई आईतबार राती करीव १४ जनाको समूहले भाला, खुकुरी र लाठीसहित आक्रमण गरेको उनीहरुको भनाई छ । कुटपिटबाट शरीरको विभिन्न अङ्गमा चोट लागेका राईको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ । 
यसैबीच, कुटपिटमा संलग्न समुहलाई कारबाहीको माग गर्दै स्थानीयबासीले सोमबार जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी दिएका छन् ।