बैशाख–२५, सामुहिक खुकुरी प्रहारबाट खोटाङमा एक युवा गम्भीर घाईते भएका छन् । 
आपसी बिवादपछि याम्खा–२ का पर्शुराम बिष्ट, बौवा बस्नेत, कृष्ण बिष्ट र राजकुमार बस्नेतको खुकुरी प्रहारबाट याम्खा–१ का ३५ वर्षीय टिकाराम खत्री गम्भीर घाईते हुनुभएको हो । 
मादक पदार्थ सेवन गरी उनीहरुले बाटो ढुकेर खत्रीलाई मंगलबार राती खुकुरीसहित आक्रमण गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट टाउको, गाला र शरीरका बिभिन्न भागमा चोट लागेका खत्रीलाई उपचारकालागि बुधबार हेलीकोप्टरमार्फत काठमाडौं लगिएको छ । 
आक्रमणमा संलग्न चारै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुबीच दुई दिनअघि भएको आपसी विवाद मिलाएकै रात खत्रीमाथि आक्रमण भएको आफन्तले बताएका छन् ।