बैशाख–२८, खोटाङमा आज देखि मुलुकमै पहिलोपल्ट गरीब घरपरिवार पहिचानको काम शुरु हुँदैछ । 
जिल्लामा बसोबास गर्ने पिछडिएका तथा बिपन्न घरपरिवार पहिचान गर्दै राज्यको सेवा तथा सुविधा जनस्तरसम्म पु¥याउने उद्देश्यले जिल्लामा पहिलोपल्ट गरीब घरपरिवार पहिचानका काम शुरु हुन लागेको हो ।
जिल्लाका ७६ गाबिसका गरीब घरपरिवार पहिचानकालागि सम्पूर्ण तयारी पूरा भएको जिल्ला बिकास समिति खोटाङका योजना अनुगमन तथा प्रशासकीय अधिकृत हरिप्रसाद गुरागाइले जानकारी दिनुभयो । 
तालिम प्राप्त ८० जना गणक तथा ११ जना सुपरिबेक्षकहरुलाई शुक्रबार नियुक्तीपत्रकासाथ तथ्यांक संकलनकालागि आवश्यक फारम प्रदान गरिसकिएको जिल्ला बिकास समितिले जनाएको छ । 
सहकारी तथा गरीबि निवारण मन्त्रालय र जिल्ला बिकास समितिले शुरु गर्ने गरीब घरपरिवार पहिचानका काम आगामी जेठ–२५ गतेसम्म जारी रहने योजना अनुगमन तथा प्रशासकीय अधिकृत गुरागाइले बताउनुभयो । 
प्रत्येक नागरिकका घर–घरमा पुग्ने गणकहरुले संकलन गरेका घरपरिवारको विवरणलाई कम्प्यूटराइज गरिने र मापदण्डका आधारमा आउँदो भदौ–१ गतेदेखि गरीब घरपरिवारलाई परिचय बितरणका काम शुरु गरिने जिल्ला बिकास समितिले जनाएको छ । 
गणकहरुमार्फत संकलन गरिएको तथ्यांकका आधारमा सर्वसाधारणलाई अति, मध्यम तथा गरीब गरी तीन बर्गमा बिभाजन गर्दै सोही आधारमा परिचयपत्र बितरण गरिने योजना अनुगमन तथा प्रशासकीय अधिकृत गुरागाइको भनाई छ । 
पहिलो चरणमा मूलुकको २५ जिल्लामा सञ्चालन भएको कार्यक्रम पुर्वको खोटाङ, ओखलढुङ्गा र सिरहामा एकैसाथ सञ्चालन गर्न लागिएको हो ।