जेठ–६, सगरमाथा आरोहण गरेर फर्कनेक्रममा खोटाङका एक आरोहीको ज्यान गएको छ । 
सगरमाथाको सफल आरोहण गरी फर्कनेक्रममा राखाबाङ्देल–५ घर भइ हाल काठमाडौंको जोरपाटीमा बस्दै आएका नांगेल शेर्पाको ज्यान गएको हो । 
७ हजार ९ सय मिटरको उचाइमा रहेको सगरमाथाको क्याम्प ‘थ्री’बाट क्याम्प ‘टु’मा झर्नेक्रममा एक्कासी ‘मुटु दुख्यो’ भन्दै बेहोस भएका शेर्पाको घट्नास्थलमै ज्यान गएको माउन्टेन कन्सल्ट ट्रेकिङ एण्ड एक्स्पिटिसन प्रालिका स्टाफ दुर्गा थापाले सोमबार जानकारी दिनुभयो । 
दशौं पटक सगरमाथा आरोहण गर्नुभएका शेर्पा फ्रेन्ड सेभ द हिमालयनका अध्यक्ष, माउन्टेन कन्सल्ट ट्रेकिङ एण्ड एक्स्पिटिसन प्रालिका प्रबन्ध निर्देशक तथा नेचर युथ क्लवका अध्यक्ष हुनुहुन्थ्यो । आरोही शेर्पा तीन सदस्यीय टोलीसहित सगरमाथा आरोहणका लागि जानु भएको थियो । 
यसैबीच, नायक अर्जुन कार्की र म्याराथुन धावक सञ्जय पाण्डेले बिहान सगरमाथाको आरोहण गर्नुभएको छ । नेपाली चलचित्र उद्योगका नायक कार्की र राष्ट्रिय म्याराथुन धावक पाण्डे सोमबार बिहान साँढे सात बजे सगरमाथा आरोहण गर्नु भएको हो । 
नायक कार्की र खेलाडी पाण्डेले सेभेन समिटको संयोजनमा १४ जना बिदेशी नागरिक र २५ जना नेपाली शेर्पा सहित सगरमाथा आरोहण गर्नु भएको आरोहण टोलीले बताएको छ । नायक कार्कीले सगरमाथा आरोहण गर्नुपुर्व पूरा गर्नुपर्ने मापदण्ड पूरा नगरी सगरमाथा आरोहण गर्नुभएको बताइएको छ ।