जेठ–८, संघीय समाजवादी पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष हेमराज राईले मुलुकमा इमान्दार राजनैतिक दल तथा नेताको खाँचो रहेको बताउनुभएको छ । 
संघीय समाजवादी पार्टी खोटाङले बुधबारदेखि सदरमुकाम दिक्तेलमा शुरु गरेको ‘पहिचान, संघीयता, समाजबाद र वर्तमान राष्ट्रिय घटनाक्रम’ विषयक दुई दिने राजनैतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका उपाध्यक्ष राईले मुलुकको अग्रगामी परिवर्तनकालागि इमान्दार पार्टी र नेताको खाँचो रहेको बताउनु भएको हो । 
मुलूकमा विद्यमान उत्पिडन, विभेद र अन्यायको अन्त्यकालागि इमान्दार पार्टी तथा इमान्दार नेताको आवश्यकता पूर्तीकालागि संघीय समाजवादी पार्टी जन्मिएको उहाँले बताउनुभयो । इमान्दार राजनैतिक आन्दोलनको हावी नभएसम्म देशमा बेइमानी राजनीति बिस्थापन नहुने भन्दै उहाँले आफ्नो पार्टीले जनताको अगाडि इमानको राजनीति अवलम्बन गर्ने बताउनुभयो । 
पूरानो सोच, बिचार लिएर अघि बढिरहेका दलहरुबाट अव परिवर्तन सम्भव नहुने दावी गर्दै उपाध्यक्ष राईले आफ्नो पार्टीलाई ‘नेपाल र नेपालीको’ बनाउने कोसिस भइरहेको बताउनु भयो । उहाँले आगामी निर्वाचनले ‘पहिचान चाहने र नचाहने’ शक्तीहरुलाई दुई भागमा बिभाजन गर्ने उल्लेख गर्नुभयो । ‘उहाँले भन्नुभयो, अव हुने चुनावमा पहिचान चाहँनेहरुको जित हुनेछ ।’
यस्तै, सल्लाहकार समितिका अध्यक्ष तथा पुर्वमन्त्री एवं प्राध्यपक डा. मंगलसिद्धी मानन्धरले पहिचानसहितको संघीयता प्राप्त नभए सबै जातजातिको अस्तित्व नामेट भएर जाने बताउनुभयो । पहिचान नचाहने दलका कारण संविधानसभा विघटन भएको आरोप लगाउँदै मानन्धरले नेपाली विविधतालाई उथोचित सम्वोधन गर्नुपर्नेमा जोड दिनुभयो । संघीय शिक्षक संघका केन्द्रीय अध्यक्ष भूदेव दाहालले आफ्नो पार्टी जातीय नभएको दावी गर्नुभयो । 
जिल्ला विकास समितिको समिक्षालय हलमा जारी प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्र, जिल्ला, क्षेत्र तथा गाउँ स्तरका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ ।