जेठ ११ ।  खोटाङको दुर्छिमका स्थानीयबासी आफैले ग्रामिण सडक निर्माण गरेका छन् । चन्दा संकलन गरी जम्मा भएको रकमबाट स्थानीयबासीले दुर्छिम–१ देखि दुर्छिम–३ र ४ हुँदै सुनकोशी जोड्ने १३ किलोमिटर लामो ‘होलेसुङ जनकमार्ग’ निर्माण गरेका हुन् ।

स्थानीय चन्दादाता, गाबिसका सरकारी कर्मचारी, उपभोक्ता तथा बिदेशमा बसिरहेका स्थानीय युवाको आर्थिक सहयोगमा सडक निर्माण गरिएको स्थानीय युवा तामन राईले बताउनु भयो ।

 कुल ३१ लाखको लागतमा पूरा भएको ग्रामिण सडक निर्माणकालागि दुर्छिम–४ का स्थानीय स्थानीय समाजसेवी जनकराज राईले ६ लाख २४ हजार २३७ र दयन्द्र राईले ३ लाख आर्थिक सहयोग गर्नु भएको सडक निर्माण उपभोक्ता समितिले जनाएको छ । दुई महिनामा पूरा गरिएको सडक स्वयं चन्दादाता जनकराज राईले उद्घाटन गर्नु भएको छ ।

 सडक निर्माण अभियान सफल बनाउनकालागि गाबिसमा कार्यरत कर्मचारी, बिदेशी लाहुरे तथा बिदेशमा कार्यरत दुर्छिमका युवाले पनि एक–एक महिनाको तलव दिएको स्थानीय समाजसेबी नरेन्द्र राईले बताउनु भयो । उहाँका अनुशार सडक निर्माणकालागि उपभोक्ताबाट २४ लाख ५० हजार चन्दा उठेको थियो । यसबाहेक सडक निर्माणकालागि ८ लाख ऋण लिइएको निर्माण समितिले जनाएको छ ।

 गाबिसको दुई लाख ९९ हजारमा पाँच वर्षअघि सर्भे गरिएको सडक स्क्याभेटरको प्रयोग गरी गत चैत्र–५ गतेदेखि निर्माण थालिएको थियो । सडक उद्घाटन कार्यक्रममा लेखक तथा पत्रकार झलक सुबेदी, युग पाठक, कबि तथा गीतकार भूपाल राई, भोगीराज चामलीङ, उज्जवल प्रसाई, माधव ढुंगेल, संगीत श्रोता लगायतको उपस्थिति रहेको थियो ।