जेठ–१६ । खोटाङ विजयखर्ककी एक महिला कानूनी कारबाहीको माग गर्दै सदरमुकाम दिक्तेल आउनुभएको छ । नाताले जेठाजु पर्ने बाँणीबेलास ढुङ्गानाले आफ्नै ज्वाँइसँग बगबाद लगाएको भन्दै विजयखर्क–८की ३५ वर्षिय गीतामायाँ ढुङ्गाना कानूनी कारबाहीको माग गर्दै सदरमुकाम आउनुभएको हो ।

विभिन्न चरणमा ठगी गर्दै आएका बाँणीबेलासले ससुराली आएका कान्छो ज्वाँइ गोपाल खनालसँग झुटो टबगबाद लगाएकाले कारबाहीको लागि सबैसँग आग्रह गर्न दिक्तेल आएको गीतामायाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘पटक–पटक आर्थिक रुपमा ठगी गर्दै आएका उनले आफूले ठगेर चलाएको रकम नतिर्ने मानसिकताले यस्तो आरोप लगाएको होे तर, त्यो सत्य हैन ।’ उहाँले थप्नुभयो, ‘भेटघाटकाक्रममा ज्वाँइ आउनुभएको समय छोपी बेलुका नौं बजे आएर तिमीहरुको चाला ठीक देखिएन, यस बेलासम्म के गर्दै बस्यौं ? जुन समयमा ज्वाँइ खाना खाँदै हुनुहुन्थ्यो ।’

उता, आर्थिक कारोबारमा विवाद भएको र लान्छना लगाएर आफूलाई फसाउने प्रयास गरेको बाँणीबेलासको भनाइ छ । तर, गाउँका अगुवाहरुले भने, आफूहरुले बोलाएको छलफलमा कुनै दिन सहभागी नभएकाले बाँणीबेलासले गल्ती गरेको दावी गरेका छन् । यस विषयमा प्रहरी चौकी बुइपा, स्थानीय राजनीतिक दल, सरोकारवालालगायतको भेलामा समेत बाँणीबेलास सहभागी नभएको बताइएको छ ।

महिना दिन अघिको घटना गाउँमा मिल्न नसेकपछि घरमा नाबालक छोराहरु छाडेर कानूनी कारबाहीको माग गर्दै आफै सदरमुकाम दिक्तेल आएको गीतामायाँले बताउनुभयो । आफू अनपढ् भएपछि सबै क्षेत्रबाट पेलिनुपर्दो रहेछ, पत्रकारहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो,–‘अन्पढ् भएकै नाताले भएपनि सहयोग गर्नुस् ।’
आफन्तसँग सदरमुकाम आउनुभएको उहाँले जिल्लास्थित राजनीतिक दल, प्रशासन, मानव अधिकारवादी संघसंस्था, पत्रकारलगायतमा उजुरी दिनुभएको छ । दुई छोराकी आमा गीतामायाँको २० हजार रुपैयाँ मागेर दुई लाख रुपैयाँ लगेपछि विवाद शुरु भएको स्थानीयको भनाइ छ । २० हजार रुपैयाँ ऋण माग्दा राष्ट्रिय वाणिज्य बैंकको खातामा रहेको बचत रुपैयाँ झिकेर चलाउन आग्रह गरेपछि दुई लाखको चेक बनाएर चलाएको गीतामायाँको आफन्त भवप्रसाद आचार्यले बताउनुभयो ।
लामो समयदेखि दुई छोरासँग घर व्यवहार गर्दै आनुभएको गीतामायाँ अन्पढ् भएकाले आफ्नो बैंकिङ कारोबार गर्न समेत बाँणीबेलासलाई नै दिने गरेको आचार्यको भनाइ छ । अक्षर नचिन्ने गीतामायाँलाई २० हजार झिक्छु भनेर दुई लाख झिकेको प्रमाणित भएको बैंकले जनाएको छ ।
यता, दुवै पक्ष राखेर छलफल गरेपछि मात्र कानूनी प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजिब बसनेतले बताउनुभयो । केहीदिन अगाडिदेखि आफूहरुको निगरानीमा रहेको मुद्दा भएकाले प्रक्रियागत तवरले कारबाही अगाडि बढाउने उहाँको भनाइ छ ।
गीतामायाँको श्रमिान रमेश ढुङ्गाना भने, तीन वर्षदेखि बैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा रहनुभएको छ ।