जेठ २१ । मलेसियाको नेपाली कामदार बसोबास गर्ने होस्टलमा चोरी भएको छ । कम्पनीमा काम गर्न गएको मौका पारेर लुटेराहरुले होस्टलको गेट र ढोका फोडेर चोरी गरेको नेपाली कामदारहरुले बताएका छन् ।

मलेसियाको बातुकेप स्थित होस्टेलबाट नेपाली कामदारको नगद, बैङ्कको एटिएम कार्ड लगायत तीन थान मोवाइल चोरी भएको होस्टलका बुद्धी तामाङले बताए । नेपाली कामदार बसोबास गर्ने होस्टलमा यसअघि पनि पटक–पटक चोरी भएको तर यसबारेमा जानकारी गराउँदा कम्पनीले बेवास्ता गरेको खोटाङ सेवा समाज मलेसियाका महासचिव प्रकाश पुष्पक राईले जानकारी दिए ।

गत बुधबारमात्र पेनाङस्थित जुरुमा रहेको प्लाष्टिक कम्पनीमा काम गर्दै आउनु भएका दाङ घोराहीका राकेश भण्डारीलाई लुटेराहरुको समुहले कुटपिट गर्दै लुटेका छन् । काम गरेर होस्टल फर्कनेक्रममा लुटेराहरुले कुटपिट गर्दै भण्डारीको साथबाट आरएम १ हजार २ सय (नेपाली रुपैया ३५ हजार) र स्क्रीन टच स्यामसुङ् मोबाइल लुटेको महासचिव राईले जानकारी दिए ।

हप्ता दिनअघि पनि सेलेङ्गोर राज्यको बेरनाङस्थित स्विट ड्रिम कम्पनीमा कार्यरत नेपाली कामदार रामनरेश शर्मा र तेजबहादुर बम्जन शारिरीक यातनासहित लुटिएका थिए ।