जेठ २१ । करेन्ट लागेर ज्यान गुमाएका नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय खोटाङका ज्यालादारी मजदुरको शव एक दिनपछि आफन्तले जिम्मा लिएका छन् ।

ट्रान्फर्मर जडान गर्नेक्रममा सोमबार ज्यान गुमाएका बुइपा–३ का ज्यालादारी मजदुर रेवतकृष्ण राई ‘सन्तोष’को शव आफन्तले मंगलबार दिउँसो मात्र जिम्मा लिएका हुन् ।

मृतकका परिवार र प्राधिकरण शाखा कार्यालयबीच मृतक परिवारलाई पाँच लाख क्षतीपुर्ती दिने, रोजगारीको व्यबस्था गर्ने, दोषीलाई कारबाही गर्ने लगायतका सहमती पछि मृतकका आफन्तले शव बुझेका छन् । राजापानी–७ मा ट्रान्सफर्मर जडान गर्नेक्रममा करेन्ट लागेर राईको सोमबार दिउँसो ज्यान गएको थियो ।

ट्रान्स्फर्मर मर्मत गर्नेक्रममा आफ्नै सहकर्मीहरुले अचानक छाडेको करेन्ट लागेर राईको सोमबार दिउँसो घट्नास्थलमै ज्यान गएको नेपाल विद्युत प्राधिकरण शाखा दिक्तेलले जनाएको छ । ज्यालादारी मजदुर राईको ज्यान गएपछि मृतकका आफन्तले क्षतीपूर्ती तथा दोषीलाई कारबाहीको माग गर्दै शव जिम्मा लिन मानेका थिएनन् ।