जेठ २१ । स्वास्थ्य परिक्षणमा फेल भएपछि मलेसियाबाट दुई नेपाली चार हप्तामै स्वदेश फर्किएका छन् । नेपालमा गरिएको स्वास्थ्य परिक्षणमा उत्तिर्ण भएपछि काठमाडौंको इन्टरनेशनल मेन पावरमार्फत मलेसिया पुगेका खोटाङ नेर्पाका चित्रप्रसाद रिजाल र उदयपुर नामेटारका सन्त तामाङ २८ दिनपछि स्वदेश फर्किनु भएको हो ।

प्रतिव्यक्ती एक लाख २० हजार तिरेर मलेसिया पुग्नु भएका रिजाल र तामाङ स्वास्थ्य जाँचकाक्रममा अनुत्तिर्ण भएपछि स्वदेश फर्किएको सुरक्षित आप्रबासन परियोजना सुचना केन्द्र खोटाङका परामर्शकर्ता खिलाश्वरी दाहालले बताउनु भयो । एनसिएल कम्पनीमा सामान प्याकिङको कामकालागि जानुभएका रिजाल र तामाङको स्वास्थ्य जाँचकाक्रममा अनुत्तिर्ण भएको रिपोर्ट देखाएपछि कम्पनीले फिर्ता पठाएको सुचना केन्द्रले जनाएको छ ।

नेपालका मेनपावर कम्पनीले मेडिकल परिक्षणमा उत्तिर्ण गरेको रिपोर्ट बनाएर पठाएका कारण मलेसियाबाट अनुत्तिर्ण भएर फर्कनु परेको पिडितहरुको भनाई छ । बिदेशमा पुगेको हप्तादेखि दुई महिनाभित्रमा गरिने स्वास्थ्य परिक्षणको प्राबधान अनुशार कम्पनीले स्वास्थ्य जाँचपछि रिजाल र तामाङलाई फिर्ता पठाएको सुचना केन्द्रका कार्यक्रम संयोजक भक्त राईले बताउनु भयो ।

नेपालमा गरिएको स्वास्थ्य जाँचकाक्रममा आफुहरु उत्तिर्ण हुनु तर मलेसियामा अनुत्तिर्ण हुनुले आफुहरुलाई मेनपावर कम्पनीले ठगी गरेको पिडित चित्रप्रसाद रिजालको भनाई छ । ‘नत्र कसरी त्यही मान्छे नेपाल पास हुन्छ, त्यही मान्छे मलेसियामा फेल हुन्छ ?’ रिजालले भन्नु भयो,’–‘यहाँ कम्पनीले केही कमजोरी गरेकै छ ।’ सरकारबाट मान्यता प्राप्त स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीको कमजोरीका कारण पनि यस्तो समस्या आउन सक्ने केन्द्रका कार्यक्रम संयोजक राईले बताउनु भयो ।

यसैबीच, मेडिकलमा अनुत्तिर्ण भएर मलेसियाबाट फर्किनु भएका चित्रप्रसाद रिजालले मेनपावर कम्पनीबाट क्षतीपूर्ती लिनु भएको छ । एक लाख २० हजार तिरेर मलेसिया पुग्नु भएका रिजालले सुरक्षित आप्रबासन परियोजना सुचना केन्द्र मार्फत पिपुल्स फोरमको निशुल्क कानूनी परामर्शमा आफुहरुलाई मलेसिया पठाउने मेनपावर कम्पनीबाट ९० हजार क्षतीपूर्ती लिनु भएको हो । काठमाडौंको इन्टरनेशनल मेन पावरमार्फत मलेसिया पुग्नु भएका रिजाल र उदयपुरका सन्त तामाङ स्वास्थ्य जाँचमा फेल भएपछि गत जेठ–१६ गते स्वदेश फर्कनु भएको थियो । तामाङ ओखलढुंगामा एजेन्ट भीमप्रसाद गौतममार्फत मेनपावर कम्पनीको सम्पर्कमा पुग्नु भएको थियो ।

रिजालले क्षतीपूर्ती पाएपनि तामाङले अझै क्षतीपूर्ती नपाएको सुचना केन्द्रका परामर्शकर्ता खिलाश्वरी दाहालले जानकारी दिनु भयो । स्वास्थ्य जाँचकाक्रममा फेल भएका कामदारले स्वदेश फर्किएको ३५ दिनभित्र क्षतीपूर्तीकालागि मेनपावर बिरुद्ध उजुरी दिनुपर्ने कानूनी प्रावधान छ । सुचना केन्द्रबाट परामर्श लिएर मलेसिया गएको र सुचना केन्द्रकै पहलमा आफुले मेनपावर कम्पनीबाट क्षतीपूर्ती लिन सफल भएको रिजालले बताउनु भयो ।