जेठ–२३, खोटाङ सेवा समाज काठमाडौंले ओखलढुंगाको सोक्माटारमा भएको बस दुर्घटनामा परी घाईते भएका बिरामीहरुको उपचारकालागि आर्थिक संकलन शुरु गरेको छ । 
समाजले पाँच दिन अघि भएको बस दुर्घटनामा घाइते भइ बिभिन्न अस्पतालमा उपचार गराइरहेका बिरामीहरुको उपचारकालागि आर्थिक संकलन शुरु गरेको हो । 
आफ्नो गृह जिल्ला खोटाङबाट ओखलढुंगातर्फ जानेक्रममा भएको दुर्घटनामा परी जिल्ला तथा जिल्लाबाहिरका यात्रुहरु घाईते भएको भन्दै समाजले नैतिकरुपमा सहयोग रकम संकलन शुरु गरेको जनाएको छ । 
गम्भीर प्रकृतिका बिरामीहरुको उपचारकालागि समाजले बुधबारदेखि राजधानी काठमाडौंमा आर्थिक संकलन अभियान थालेको खोटाङ सेवा समाज काठमाडौंका सचिव बाजिन्द्र बिष्टले जानकारी दिनु भयो । 
घाईतेहरुको उपचारकालागि थालिएको अभियानको पहिलो दिन ६३ हजार आर्थिक सहयोग संकलन भएको छ । संकलन भएको रकम पत्रकार सम्मेलनमार्फत बीर अस्पताल काठमाडौं, न्यूरो अस्पताल बिराटनगर र बिपी कोईराला मेमोरियल प्रज्ञा प्रतिष्ठान घोपा धरानमा उपचार गराइरहेका घाईतेहरुको उपचारार्थ प्रदान गरिने समाजका सचिव बिष्टले बताउनु भयो । 
घाइतेहरुको उपचारकालागि राजधानीमा रहेका खोटाङबासी एवं शसस्त्र प्रहरीका पुर्वमहानिरिक्षक सनतकुमार बस्नेतबाट २५ हजार, कांग्रेसका महासमिति सदस्य नरेशकुमार श्रेष्ठबाट दश हजार, सरस्वति बजीमयबाट पाँच हजार, डा. बिष्णु राईबाट पाँच हजार, मणीकुमार राईबाट तीन हजार लगायतका सहयोग प्राप्त भएको छ । 
गत आईतबार भएको बस दुर्घटनामा गम्भीर घाईते भएका चालकसहित तीन जनाको बीर अस्पताल, तीन जनाको न्यूरो अस्पताल र आठ जनाको धरानस्थित घोपामा उपचार भइरहेको छ  । 
हलेसीबाट ४५ यात्रु लिएर ओखलढुंगाको हर्कपुरतर्फ जाँदै गरेको बा २ ख ९४५५ नम्बरको बस ओखलढुंगाको थाक्ले–८ सोक्माटारमा दुर्घटना हुँदा एक जनाको घटनास्थमै र तीन जनाको उपचारकालागि उदयपुरको कटारीतर्फ लैजाँदै गर्दा बाटोमा ज्यान गएको थियो ।