जेठ–२६, खोटाङका सात गाबिसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । 
गाबिसमा रहेका सबै घरधुरीमा पक्की शौचालयको निर्माण गरी प्रयोगमा ल्याइएपछि लफ्याङ, नेर्पा, खिदिमा, जालपा, बाकाचोल, दिप्सुङ र नुनथला गाबिसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । 
सदरमुकाम दिक्तेलसँग जोडिएको लफ्याङ गाबिसलाई आईतबार खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । गाबिसका ६१५ घरधुरीमा पक्की शौचालयको निर्माण गरिएपछि गाबिसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । 
मेघेचौतारामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले गाबिसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नु भएको हो । 
यसैबीच, लफ्याङ गाबिसको खुला ठाउँमा दिशा गर्नेलाई दुई सय रुपैयाँ जरिवाना गरिने भएको छ । 
आइतबार खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको गाबिसका जुनसुकै खुला ठाउँमा दिशा गर्नेलाई दुई सय रुपैयाँ जरिवाना गरिने गाबिसले जनाएको छ । 
लुकीछिपी खुला स्थानमा दिशा गर्नेको बारेमा तत्काल जानकारी दिने व्यक्तीलाई पुरस्कार स्वरुप जरिवाना रकमको ५० प्रतिशत रकम प्रदान गरिने गाबिस सचिव यदुनाथ आचार्यले बताउनु भयो ।