जेठ–३०, खोटाङमा १२ दिनदेखि प्रहरी हिरासतमा रहेकी २७ दिनकी एक सुत्केरी महिलालाई श्रीमान समक्ष जिम्मा लगाइएको छ । 
महिला तथा बालबालिका पुर्नस्थापना केन्द्रको संरक्षणमा रहेकी खोटाङ बाराहापोखरी–२ की ३४ वर्षीया सुत्केरी अवस्थाकी भोटी विश्वकर्मालाई बिहीबार पत्रकार सम्मेलन गरी श्रीमान गणेश विश्वकर्माको जिम्मा लगाईएको हो । 
डेढ वर्षअघि मृत्यु भएकी भोटीकी जेठी सौता मीना विश्वकर्माको रहस्मय मृत्यु भएको भन्ने विषयमा सोधपुछका लागि प्रहरीद्धारा जेठ १५ गते पक्राउ गरि पुर्नस्थापना केन्द्रमा राखिएको थियो । प्रहरी अनुसन्धानको क्रममा जेठी मीना विश्वकर्माको कालगतीले मृत्यु भएको हो भन्ने प्रमाणित भएपछि हिरासतमा रहेकी भोटीलाई रिहा गरिएको प्रहरीले जनाएको छ । 
पुर्नस्थापना केन्द्रमा रहेकी भोटीलाई प्रहरीले छाडीदिन पत्राचार गरेपछि श्रीमानको साथ छाडिएको केन्द्रले जनाएको छ । 
जिल्लामा अलपत्र अवस्थामा रहेका महिला तथा बालबालिकालाई संरक्षण गर्ने उद्देश्यले महिना दिनअघि मात्र स्थापना गरिएको पुर्नस्थापना केन्द्रमा पहिलो पल्ट सुत्केरी विश्वकर्मालाई राखिएको संस्थाका सदस्य युवराज रिजालले बताउनुभयो । 
यसैबीच, जिल्ला बाल कल्याण समितिले विश्वकर्माको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै २५ सय रुपैया आर्थिक सहयोग उपलब्ध गराएको छ । प्राप्त सहयोग रकमले नाबालक शिशुको कपडा खरिद गरिएको र बाँकी रकम सुत्केरी महिलालाई उपलब्ध गराईएको संस्थाकी कोषाध्यक्ष तिर्थकुमारी भुजेलले बताउनुभयो ।