असार–४, खोटाङबासीको लगानीमा दिक्तेलमा स्थापना भएको सालपा विकास बैंकले आफ्नो शाखा बिस्तार गरेको छ । 
दश महिनाअघि स्थापना भएको बैंकले सोमबार हलेसीमा आफ्नो पहिलो शाखा बिस्तार गरेको हो । 
‘जनता बैंकमा होइन, बैंक जनतासम्म जानु पर्छ’ भन्ने नारासहित बैंकले पश्चिमी क्षेत्रका सर्वसाधारणलाई लक्षित गर्दै हलेसीमा शाखा बिस्तार गरिएको बैंकका सञ्चालक समितिका अध्यक्ष टंक राईले जानकारी दिनुभयो ।
‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने नारा सहित २०६९ साल साउन–३ गतेदेखि कारोबार शुरु गरेको बैंकले गत बैशाख मसान्तसम्ममा ४ करोड ४१ लाख ७ हजार ६ सय ६० रुपैयाँ निक्षेप संकलन गरिसकेको छ ।
बैंकले यस अवधिमा जिल्लाका १ हजार ९ सय ३६ जना निक्षेपकर्ताहरुबाट निक्षेप संकलन गरेको र १०१ जनालाई ३ करोड ८० लाख २२ हजार ४ सय ५१ रुपैयाँ कर्जा प्रवाह गरेको बैंकका कार्यकारी अधिकृत ईश्वरमान राईले जानकारी दिनुभयो ।
खोटाङका १२० जना सेयर सदस्यहरुको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत गरी २ करोडको पुँजी लगानीबाट शुरु गरिएको बैंकले चल्ती तथा कल खाता, साधारण, नारी, विद्यार्थी, ज्येष्ठ, बाल, खुत्रुके लगायतका १० वटा बचत खाता, ८ किसिमका मुद्दती खाता र ९ किसिमका कर्जा तथा सापट विप्रेषणलगायतका सेवा प्रवाह गर्दै आएको छ । 
यस्तै, बैंकले आईएमई, प्रभु, हिमाल, रिलायबल र वेष्टन युनियन रेमिटहरुको एजेन्सी सेवा समेत प्रदान गर्दै आएको छ ।