असार–५, अबिरल वर्षासँगै खोलामा आएको बाढीले बिजुलीको पोल बगाएपछि खोटाङमा दुई दिनदेखि विद्यूत अवरुद्ध भएको छ । 
केहीदिनदेखि लगातार परेको वर्षासँगै उदयपुरको त्रियुगा खोलामा आएको बाढीले दिक्तेल–गाईघाट ११ केभी र ३३ केभी बिद्युत प्रशारण लाईनको चारवटा बिजुलीको पोल बगाएपछि विद्यूत अवरुद्ध भएको हो । 
मंगलबार बिहान परेको वर्षासँगै खोलामा आएको बाढीले पोल बगाएपछि मर्मत गर्न कम्तिमा पनि एक हप्ता समय लाग्ने विद्यूत प्राधिकरणले जनाएको छ । विद्यूत अवरुद्धसँगै आफूहरुले तत्कालै प्राविधिक टोली खटाएको भएपनि लगातार पानी परिरहेकाले तत्काल पोल फेर्न सक्ने अवस्था नरहेको विद्यूत प्राधिकरण शाखा खोटाङका प्रमुख ध्रुबकुमार बिसीले जानकारी दिनुभयो । खोटाङ ल्याइएको विद्यूत लाईन लामो दूरीको भएको कारण पनि तत्काल सञ्चालनमा ल्याउन नसकिएको बिसीको भनाइ छ । 
यता, विद्यूत अवरुद्ध भएसँगै जिल्लामा अन्धकार छाएको छ । यसको प्रत्येक्ष प्रभाव सञ्चार माध्यम, उद्योगी तथा व्यापारी, सर्वसाधारणलगायमा परेको छ । सरकारी कामकाजका लागि गाउँगाउँबाट सदरमुकाम दिक्तेल आएका सर्वसाधारण चर्को मूल्य तिरेर फोटो खिचाउनुका साथै फोटोकपी गर्न बाध्य भएका छन् भने, जिल्लामा सञ्चालित मोवाईल सेवा समेत अवरुद्ध भएको छ । 
मोवाईल सेवा अवरुद्ध भएपछि जिल्ला सञ्चार बिहिन भएको छ । केहीले घण्टाको २० रुपैयाँ तिरेर मोवाईल चार्ज गराउने गरेका छन् । यस्तै, विद्यूत सेवा हुँदा ५० रुपैयाँमा खिच्ने फोटो विद्यूत अवरुद्ध भएसँगै एक सय रुपैयाँमा खिच्ने गरेका छन् । यसको सबैभन्दा ठूलो मार सर्वसाधारणमा परेको छ ।