असार–८, डाकाको एक समुहको आक्रमणबाट खोटाङमा एक दम्पतीको ज्यान गएको छ । 
सात/आठ जनाको समुहमा आएको डाकाको धारिलो हतियार प्रहारबाट पाथेका–४ का ७८ वर्षीय चक्रबहादुर गिरी र उहाँको ७५ वर्षीया श्रीमती लीलामायाँ गिरीको ज्यान गएको हो । 
शुक्रबार बेलुकाको खाना खाएर सुत्न लागेका समयमा डाकाको समुहले एक्कासी बृद्धबृद्धामाथि धारिलो हतियारसहित आक्रमण गरेको प्रहरी निरीक्षक रमेशकुमार देबले बताउनु भयो । 
रातको करिब ११ बजेतिर लीलामायाँलाई आक्रमण गरेका डाकाहरुको समुहले क्रमशः चक्रबहादुर र ५१ वर्षीया छोरा अमर गिरीलाई आक्रमण गरेको प्रहरीले जनाएको छ । आफ्ना बृद्धबृद्धा बाबुआमामाथि आक्रमण भएको थाहा पाएपछि बचाउकालागि गएका छोरा अमर गिरीको टाउकोमा गहिरो चोट लागेको छ । 
अमरको छोरा कुमार गिरी हल्ला गर्दै घटनास्थल पुगे लगत्तै लीलामायाँले लगाएको दुई तोला सुन लुटेर डाका समुह फरार भएको गिरी परिवारले बताएको छ । आक्रमणमा संलग्न डाका समुहको पहिचान भएको छैन । 
घटनास्थल गाउँबाट एकान्त र फोन पनि नलाग्ने ठाउँ भएकाले घटनाकाबारेमा ढिलो जानकारी आएको प्रहरीले बताएको छ । अहिले मृतक दम्पतीको शव पोष्टमार्टमकालागि सदरमुकाम दिक्तेल ल्याउने काम भइरहेको छ, भने डाकाको धारिलो हतियार प्रहारबाट गम्भीर घाईते बनेका अमरलाई पनि उपचारकालागि सदरमुकाम ल्याइदै छ ।