असार–१२, खोटाङमा बृद्धबृद्धा दम्पत्तीको हत्यामा संलग्न ६ युवा पक्राउ परेका छन् । 
डाँका गर्ने उद्धेश्यले पाथेका–४ छेराका ७८ वर्षीय चक्रबहादुर गिरी र उहाँको ७६ वर्षीया श्रीमती लीलामायाँ गिरीको हत्यामा संलग्न पाथेका–४ का १८ वर्षीय आशिष राई, १८ वर्षीय तिलकराम पूरी, १७ वर्षीय थामसिं राई, १९ वर्षीय कुमारसिं राई, १७ वर्षीय हिराधन राई र १७ वर्षीय संदेश राई पक्राउ परेका हुन् । 
गिरी दम्पत्तीको घरमा भएका पाँच तोला सुन र पूरानो निलो रंगको पीँध भित्र परेको बहुमूल्य शिशी लुट्ने योजना अनुशार घट्नाका प्रमुख योजनाकार आशिष नेतृत्वको युवा समुहले बृद्धबृद्धा दम्पत्तीको हत्या गरेको प्रहरी नायब उपरिक्षक राजीव बस्नेतले बताउनु भयो । 
गत शुक्रबार राती गिरी दम्पतीको हत्या गरेर फरार युवाहरुलाई भाग्दै गरेको र कसैलाई घरमा बसिरहेकै अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका ६ जना युवालाई बुधबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । 
उनीहरुको साथबाट घट्नामा प्रयोग गरिएका दुई थान खुकुरी, एक थान लाठी, रगत लागेको एक थान कपडा, सिम र मेमोरीबीनाको एक थान नोकिय मोबाइल सेट बरामद गरिएको प्रहरी नायब उपरिक्षक बस्नेतले जानकारी दिनु भयो । 
गिरी दम्पत्तीको हत्यामा संलग्न रहेको आशंकामा पक्राउ परेका अन्य चार जनालाई भने सोधपुछपछि छाडिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अभियुक्तहरुलाई खुनडाँडा अन्तरगत कारबाही प्रकृया अघि बढाइने प्रहरी नायब उपरिक्षक बस्नेतको भनाई छ । 
एकान्त र जंगलछेउमा घर भएका बृद्धबृद्धालाई उनीहरुले धारिलो हतियार प्रहार गरी बिभत्सतरिकाले हत्या गरेका थिए । आफ्ना बृद्धबृद्धा बाबुआमामाथि आक्रमण भएको थाहा पाएपछि बचाउकालागि गएका छोरा ५१ वर्षीय अमर गिरीको टाउकोमा गहिरो चोट लागेको छ ।

अमरको छोरा कुमार गिरी हल्ला गर्दै घटनास्थल पुगे लगत्तै लीलामायाँले लगाएको दुई तोला सुन लुटेर उनीहरु फरार भएका थिए ।

यसैबीच, खोटाङमा अबैध लागू औषध गाँजा तथा चरेस सहित एक युवा पक्राउ परेका छन् ।
सात सय ग्राम गाँजा तथा नौ ग्राम चरेशसहित पाथेका–४ का १७ वर्षीय अजय राई पक्राउ परेका हुन् ।

रातो रंगको जेब्रा झोलामा अबैध लागू औषध बोकेर पाथेकातर्फ जाँदै गरेको अवस्थामा प्रहरीले राईलाई सदरमुकाम दिक्तेल–८ बाट पक्राउ गरेको हो ।

शंका लागेपछि गरिएको चेकजाँचकाक्रममा राईलाई चरेश र गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खोटाङमा लागू औषधसहित पक्राउ गरिएको घट्ना पहिलो भएको प्रहरीको दाबी छ । उनलाई पनि प्रहरीले गिरी दम्पत्तीको हत्यामा संलग्न युवाहरुसँगै सार्वजनिक गरेको छ ।