असार–१३, रोजगारीका सिलसिलामा दुबई पुगेका चार नेपाली सम्झौता अनुशारको तलब पाउनबाट बञ्चित बनेका छन् । 
मासिक २ हजार ७ सय ७० रुपैयाँ दिराम पाउनेगरी ललितपुरस्थित स्प्रीङ नेपाल ह्यूमन रिसोर्स प्रालिमार्फत ६ महिनाअघि दुबई पुगेका खोटाङको जलेश्वरी–३ का मोहनकुमार राई सहित मनोज भुजेल, सन्दीप ढकाल र प्रदीप ढकाल सम्झौता अनुशारको तलव पाउनबाट बञ्चित हुनुभएको हो । 
हाल इमिरेट्स ट्रान्सपोर्टेशन कम्पनीमा सेक्यूरिटी गार्डकारुपमा कार्यरत युवालाई कम्पनीले मासिक तलव नदिएको, दिएपनि साथीहरुमार्फत कहिले ६ सय, कहिले एक हजार र कहिले एक हजार ६ सय मात्र दिने गरेको सुरक्षित आप्रबासन परियोजना सुचना केन्द्र खोटाङका संयोजक भक्त राईले जानकारी दिनु भयो । 
मेनपावर कम्पनीले ठगी गरेको भन्दै मोहनकुमार राईकी श्रीमती चन्द्रकला राईले क्षतीपूर्ती सहितको कारबाहीको माग गर्दै बिहिबार सुचना केन्द्रमा मेनपावर बिरुद्ध उजुरी दिनुभएको छ । 
सम्झौतापत्रमा उल्लेख भए अनुशार आफ्नो श्रीमानलाई कम्पनीले तलव नदिएको, दुबई जाँदा बढि रकम लिएको चन्द्रकलाले बताउनु भयो । उहाँहरु स्प्रीङ नेपाल ह्यूमन रिसोर्स प्रालिका नीलकण्ठ खनालमार्फत गत माघ–२८ गते दुबई पुग्नु भएको थियो । 
सम्झौता बिपरित अर्कै कम्पनीमा पु¥याइयो 
पिडितले उजुरीकासाथमा संलग्न गरेको कागजातका अनुशार अमिनको सेक्यूरिटी सर्भिस कम्पनीमा गार्डकारुपमा पठाउने भन्दै बैदेसिक रोजगार बिभागबाट श्रमस्वीकृति लिएको स्प्रीङ नेपाल ह्यूमन रिसोर्स प्रालिले मोहनसहित चार युवालाई सम्झौता बिपरित इमिरेट्स ट्रान्सपोर्टेशन कम्पनीमा पु¥याएको खुलासा भएको छ । 
तर बिभागको एसएमएस प्रणाली अन्तरगत पिपि टाइप गरेर मोहनको पासपोर्ट नम्बर ०५९२४३०१ लाई ४००१ मा एसएमएस पठाएर हेर्दा भने मोहनकुमार अहिले पनि अमिनको सेक्यूरिटी सर्भिस कम्पनीमै कार्यरत रहेको देखिन्छ । 
यसैबीच, (यो समाचार तयार गर्दागर्दै मोहन कार्यरत कम्पनीको नाम परिवर्तन भएको देखाएको छ । दिउँसो १ बजेर ९ मिनेट जाँदा मोहनकुमार अमिनको सेक्यूरिटी सर्भिस कम्पनीमै कार्यरत रहेको देखिएकोमा अपराह्न ४ बजेपछि भने व्ल्यू डायमण्ड सि कम्पनीमा कार्यरत रहेको देखाएको छ । पहिलो मेसेजमा मोहनकुमारको मासिक तलव २ हजार देखाएकोमा दोश्रो मेसेजमा १ हजार २ सय देखाएको छ । ) 
कम्पनीले ७० हजारको सट्टा तीन लाख लिए 
यस्तै, मेनपावरले दुबई जानकालागि अधिकतम ७० हजार रकम लिनुपर्नेमा मोहनबाट २ लाख ९५ हजार र अन्य तीन युवाबाट प्रतिव्यक्ती ३ लाखका दरले रकम लिएको चन्द्रकलाले उजुरीकोसाथमा बुझाउनु भएको कागजातमा उल्लेख छ । 
मोहनले २ लाख ९५ हजार बुझाएको मेनपावरको छापसहितको भपाई भए पनि बिभागको एसएमएस प्रणालीबाट हेर्दा उहाँले ७० हजार मात्र बुझाएको देखाउँछ । 
निबेदन परेपछि पिडितलाई क्षतीपूर्ती दिलाउनकालागि पिपुल्स फोरम समक्ष उजुरीलाई सिफारिस गरिएको सुचना केन्द्रका संयोजक राईले बताउनु भयो । मेनपावरले ठगी गरेको थाहा पाएपछि प्रदीप ढकाल भने स्वदेश फर्कीसक्नु भएको छ । कम्पनीले ढकाललाई पारिवार बिरामी भएका कारण स्वेच्छाले फर्किएको कागजातमा हस्ताक्षर गराएरमात्र स्वदेश फर्कन दिएको पिडितको भनाई छ । 
बैदेसिक रोजगार कानून अनुशार ‘बैदेसिक रोजगारमा लगाइदिन्छु भनी झुटो आश्वसन दिइ वा प्रलोभन देखाई बैदेसिक रोजगारमा लगाइ दिने उद्धेश्यले कुनै रकम लिने वा बिदेश पठाउने व्यक्ती वा कम्पनीलाई लिएको रकम र सो रकमको ५० प्रतिशत हर्जना, बिदेश जाँदा र आउँदाको रकम समेत पिडितलाई भराई ३ वर्षदेखि ७ वर्षसम्म कैंद र तीन लाखदेखि पाँच लाखसम्म जरिवाना गर्ने व्यवस्था छ ।