असार–१६, अहेवको हेल्चेक्राइले खोटाङमा दुई जनाको ज्यान गएको छ भने, एक जना अपाङ्ग भएका छन् ।

उपस्वाथ्यचौकी मात्तिमका अहेव गगनदेव शाहको हेचेक्राइले सोही गाविस वडा नम्बर–९ का भगतलाल चौलागाइँकी डेढ वर्षीया छोरी पवित्रा चौलागाइँ र वडा नम्बर–८ की रत्नकुमारी चाहारको १४ वर्षीय छोरा बबिन चाहारको ज्यान गएको हो भने, वडा नम्बर–९ की सन्तकला राईको सात वर्षीय छोरा कृष्ण राई अपाङ्ग भएका हुन् ।

अहेव शाहले आफू उपचारमा संलग्न नभइ कार्यालय सहयोगी सुमन ढकालको भरमा बिरामी छाड्ने गरेका कारण चौलागाइँकोे असार–१४ गते र चाहारको जेठ–२६ गते ज्यान गएको मृतकका आफन्तले बताएका छन् ।

आफन्तका अनुसार चौलागाइँ भैंसीलाई पकाएको खोलेको भाँडोमा परेर घाइते बनेपछि सोही दिन अर्थात असार–१४ गते नै स्वास्थ्यचौकी भर्ना गरिएको थियो भने, चाहारलाई निमोनियाको बिरामी परेपछि जेठ–१९ गतेबाट उपचार शुरु गरिएको थियो ।

खोलेको भाँडोमा परेकी बालिकालाई उपस्वास्थ्यचौकी पु¥याइएसँगै अहेव शाहले त्यही उपचार हुन्छ भनेर अन्यत्र लान रोकेको र कार्यालय सहयोगी ढकाललाई उपचारमा खटाएकाले भतिजीको ज्यान गएको मृतकको काका सुनिल चौलागाइँले बताउनुभयो ।

उहाँले भन्नुभयो, –‘उपचार गर्न सक्दिन भनेर अन्यत्र रेफर गरिदिएको भए भतिजीको ज्यान जाँदैन थियो !’ चौलागाइँले थप्नुभयो,–‘अहेव शाहले आफैले उपचार पनि नगरेको र अन्यत्र लान पनि नदिएकै कारण भतिजीले अकालमै ज्यान गुमाएकी हुन् ।’

यस्तै, जेठ–१९ गते स्वास्थ्यचौकीबाट उपचार शुरु गरिएका चाहारलाई स्वास्थ्यचौकी मै ठीक बनाउँछु भन्दै शाहले चर्को मूल्यको औषधि सेवन गराएपछि औषधिको डोज थेग्न नसकेर मृत्यु भएको आफन्तले बताएका छन् । चाहार परिवार भन्छन्,–‘आफ्नो औषधि बिक्री गर्न अहेवले जे पायो त्यही औषधि दिने गर्दथे ।’

उता, आफूले सक्दो प्रयास गरेको र अन्यत्र लैजानबाट कसैलाई रोक नलगाएको अहेव शाहले दावी गर्नुभयो । उहाँले भन्नुभयो, –‘आफूमाथि फसाउन कसैले झुटो आरोप लगाएको हो ।’

यसअघि माघेसंक्रान्तिको दिन रोटी पकाउने तेलमा परी घाइते बनेका सात वर्षीय कृष्ण राईको समेत आफै निको पार्छु भन्दै अन्यत्र लैजान रोकेर अपाङ्ग बनाएको कृष्णकी आमा सन्तकला राईले बताउनुभयो । सन्तकलाका अनुसार तेलले पोलेर घाइते बनेका छोरा कृष्णको देब्रे हात डल्लो परेको छ भने, दाहिने पट्टीको गाला बाङ्गिएको छ ।

यसका बारेमा आफूलाई कुनै जानकारी नआएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख डाक्टर नवकिशोर झाले बताउनुभयो । उहाँले भन्नुभयो,–‘यस्ता घटना भएको यथार्थ हो भने, सम्बन्धित व्यक्तिले उजुरी गरेमा कारबाही अगाडि बढाइनेछ ।’

स्थानीय सरोज भटराईका अनुसार कार्यालय सहयोगी ढकालको भरमा स्वास्थ्य उपचार सञ्चालन गर्दा सेवाग्राहीले ज्यादै सास्ती खेप्नु परेको दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो,–‘पटक–पटक सरुवा भएरपनि राजनीतिक आडमा मात्तिममै बस्दै आएकाले झनै सर्वसाधारणको स्वास्थ्यमा खेलबाड हुने गरेको छ ।’

अहेव शाह अवैध काम तथा चर्को मूल्यमा औषधि बिक्री गर्ने व्यापारमा लागेको र  सर्वसाधारणको स्वास्थ्य उपचारमा खेलबाड गर्नुका साथै स्वास्थ्य संस्थामा पाइने औषधिप्रति जनमानसमा अविश्वस पैदा गर्ने गरेको स्थानीयबासी तथा पूर्व सांसद् कुलप्रसाद फुयालले बताउनुभयो ।

‘स्वास्थ्य संस्थामा गराउनुपर्ने प्रसुतिलाई निरुत्साहितगरी घरघरमा गएर प्रसुति गराएबापत मोटो रकम लिने गरेको फुयालको भनाइ छ । फुयालले भन्नुभयो–‘उपचार भन्दा बढी राजनीतिक क्रियाकलाप र दादागिरीमा संलग्न हुने गरेको छ ।’

शाहले अवैध गर्भपतन वापत दुई हजारदेखि दश हजार रुपैयाँसम्म लिने गरेको नाम नभन्ने सर्तमा एक स्थानीयबासीले जानकारी दिएका छन् ।

शाहको यीनै क्रियाकलापको कारण जिल्ला स्वास्थ्य कार्यालयले अन्यत्र सरुवा गरेपनि शक्ति भिडाएर सरुवा थमौती गरेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका एक अधिकारीले बताएका छन् । उनका अनुसार माघ–२९ गते सरुवा भएका शाह अटेर गरेर बसिरहेपछि बैशाख–२६ गते विभागबाटै सरुवा थमौती लिएर बसेका छन् ।