असार–१९, गरिब घरपरिवार पहिचानकालागि खोटाङका ४० हजार सर्वसाधारणको तथ्यांक संकलन गरिएको छ । 
गरिब घरपरिवार पहिचानकालागि सहकारी तथा गरीबि निवारण मन्त्रालय र जिल्ला बिकास समिति खोटाङले दुई महिना २० दिन लगाएर जिल्लाका ४० हजार सर्वसाधारणको तथ्यांक संकलन गरेको हो । 
जिल्लाको गरिब घरपरिवार पहिचानकाकालागि गत बैसाख–२८ गतेदेखि थालिएको तथ्यांक संकलनका काम सोमबार सम्पन्न भएको जिल्ला बिकास समिति खोटाङका योजना अधिकृत हरिप्रसाद गुरागाईले जानकारी दिनु भयो । 
तथ्यांक संकलनकाक्रममा सबैभन्दा कम दिप्सुङ गाबिसमा १६८ र सबैभन्दा बढि दिक्तेल गाबिसमा एक हजार ५०४ घरपरिवारको तथ्यांक संकलन भएको योजना अधिकृत गुरागाईले बताउनु भयो । जिल्लाको ७६ गाबिसमा बसोबास गर्ने गरीब घरपरिवार पहिचानकालागि तथ्यांक संकलन गर्न तालिम प्राप्त ८० जना गणक तथा २० जना सुपरिबेक्षकहरुलाई खटाइएको जिल्ला बिकास समितिले जनाएको छ । 
पिछडिएका तथा बिपन्न घरपरिवार पहिचान गर्दै राज्यको सेवा तथा सुविधा जनस्तरसम्म पु¥याउने उद्देश्यले जिल्लामा पहिलोपल्ट गरीब घरपरिवार पहिचानका काम थालिएको थियो । गरीब घरपरिवार पहिचानका काम थालिएपछि जिल्लाका सर्वसाधारणमा आशा जगाएको छ । 
प्रत्येक नागरिकका घर–घरमा पुगेका गणकहरुले संकलन गरेका घरपरिवारको विवरणलाई कम्प्यूटराइज गरिने र मापदण्डका आधारमा गरीब घरपरिवारलाई परिचय बितरणका काम शुरु गरिने योजना अधिकृत गुरागाईको भनाई छ । गणकहरुमार्फत संकलन गरिएको तथ्यांकका आधारमा सर्वसाधारणलाई अति, मध्यम तथा गरीब गरी तीन बर्गमा बिभाजन गर्दै सोही आधारमा परिचयपत्र बितरण गरिने उहाँले जानकारी दिनु भयो ।