असार–२४, खोटाङको दिक्तेल–हलेसी सडक खण्डमा यात्रुबाहक सवारी साधन सञ्चालन नहुँदा यात्रुहरु मारमा परेका छन् । लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडक खण्डमा यात्रुबाहक सवारी साधन सञ्चालन नहुँदा जिल्लाका यात्रुहरु मारमा परेका हुन् ।
यात्रुबाहक सवारी साधन सञ्चालन नहुँदा तराईबाट सदरमुकाम भित्रिने र सदरमुकामबाट तराई बाहिरिने यात्रुहरु मारमा परेका खोटाङ यातायात व्यवसायी संघका कार्यबाहक अध्यक्ष गणेश शाहीले बताउनु भयो । वर्षाको पानीले कच्ची सडक हिलाम्मे बनेपछि र सवारी साधन सडकमै भासिन थालेपछि जिल्लाको दिक्तेल–हलेसी सडक अवरुद्ध भएको हो ।
यात्रुबाहक बस ठप्प भएपनि सो सडकमा मालबाहक ट्रक, ट्याक्टर तथा साना जीपहरु भने सञ्चालनमा रहेको कार्यबाहक अध्यक्ष शाहीले जानकारी दिनु भयो ।
उहाँका अनुशार कालोपत्रे गरिएको जयराम–दिक्तेल सडक खण्डमा भने यातायात सेवा सुचारु रहेको छ ।
यसैबीच, अवरुद्ध दिक्तेल–हलेसी सडक सुचारु गराउनकालागि जिल्लाका यातायात व्यवसायीले सडक मर्मत गर्ने तयारी गरेको छ । प्रतिव्यावसायी दश हजारका दरले आर्थिक संकलन गरी सडक मर्मत गर्ने तयारी गरिएको खोटाङ यातायात व्यवसायी संघका कार्यबाहक अध्यक्ष गणेश शाहीले जानकारी दिनु भयो ।
सडकको खाल्डाखुल्डीमा ग्रालेलिङ गरी हप्ता दिनभित्र सडक सुचारु गराईने अध्यक्ष शाहीले बताउनु भयो । सडकलाई निरन्तर सुचारु गराउनकालागि संघले प्रतिव्यक्ती नौ हजार पारिश्रमिक पाउनेगरी १२ जना सडक हेरालुहरु नियुक्त गरेको छ ।
सडकको खाल्डाखुल्डी पुर्ने, ढुंगा पन्छाउने र सडकको अवरोध हटाउने कामकालागि आईतबारदेखि लागूहुनेगरी सडक हेरालु नियूक्त गरिएको अध्यक्ष शाहीको भनाई छ । सडक बिभागले राखेको सडक हेरालु हटाएपछि यातायात व्यवसायी संघ आफैले सडक हेरालु राखेको जनाएको छ ।