असार–२५, हत्याको अभियोगमा खोटाङमा दुई युवा जेल चलान भएका छन् । खार्मी–६ का ४० वर्षीय ध्रुब श्रेष्ठको हत्या गरेको अभियोगमा बासपानी–९ का १८ वर्षीय अनुराम राई र पाथेका–२ का १८ वर्षीय भूदेउ राईलाई जेल चलान गरिएको हो । 
प्रहरी हिरासतमा राखिएका उनीहरुलाई पुर्पक्षकालागि जिल्ला कारागार शाखा दिक्तेल चलान गरिएको प्रहरीले जनाएको छ । श्रेष्ठको हत्यामा संलग्न चार जना अभियुक्तमध्ये दुई जनालाई जेल पठाइएको हो । 
हत्यापछि पक्राउ परेका बासपानी–९ का २१ वर्षीय अकिल राई गत शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालयको हिरासतबाटै फरार भएका छन् भने घटनाका मुख्य अभियुक्त पाथेका–२ का २५ वर्षीय अबिन राई घट्नालगत्तैदेखि फरार छन् । प्रहरीका अनुशार फरार रहेका अबिन र अकिलको खोजी भइरहेको छ । 
श्रेष्ठको हत्या गरेको अभियोगमा प्रहरीले अकिल, भूदेउ र अनुरामलाई गत जेठ–२८ गते नियन्त्रणमा लिएको थियो । साकेला पर्वको अवशरमा खार्मीको तुर्खास्थित भुमेस्थानमा गत जेठ–२० गते भूमे पूजा तथा साकेला नाच भइरहेको समयमा जालपाका केही युवा र उनीहरुबीचको दोहोरो झगडा छुट्याउन गएका श्रेष्ठलाई उनीहरुले छुरा प्रहार गरेका थिए ।