असार–२५, खोटाङमा एक गाबिस कार्यालय र उपस्वास्थ्यचौकीको भवन व्यक्तीको नाममा रहेको खुलासा भएको छ । 
खाल्ले गाबिसको भवन स्थानीय नन्दबहादुर कट्वाल र नेर्पामा रहेको उपस्वास्थ्यचौकीको भवन नेर्पा–२ का नीरबहादुर राईको नाममा रहेको खुलासा भएको हो । जग्गादाता, ठेकेदार र स्वास्थ्य सहयोग समितिको बिवादका कारण व्यक्तीको नाममा रहेको गाबिस र उपस्वास्थ्यचौकीको भवन हालसम्म कार्यालयको नाममा नामसारी गर्न नसकिएको खुलासा भएको हो । 
गाबिसको भवन निर्माणको जिम्मा लिएका ठेकेदार र जग्गा दाताबीचको बिबादका कारण खाल्ले गाबिसको भवन हालसम्म व्यक्तीकै नाममा रहन गएको हो । यस्तै, जग्गादाता र स्वास्थ्य सुधार समितिको बिवादका कारण नेर्पाको उपस्वास्थ्यचौकीको भवन पनि १६ वर्षदेखि व्यक्तीकै नाममा रहेको समितिका अध्यक्ष धनप्रसाद पराजुलीले बताउनु भयो । 
ठोकेदार तेजनारायण श्रेष्ठ र जग्गादाता कट्वालबीच लेनदेनको बिषयमा बिबाद हुँदा खाल्ले गाबिसको भवन कट्वालको नामबाट गाबिसको नाममा सार्न नसकिएको स्थानीयबासीको भनाई छ । 
शान्ति तथा पुःर्ननिर्माण मन्त्रालयको २९ लाखको लागतमा गत वर्ष गाबिसको भवन निर्माण गरिएको हो । यस्तै, गाबिसको अनुदानबाट २०५३ सालमा उपस्वास्थ्यचौकीको भवन निर्माण गरिएको पराजुलीले बताउनु भयो ।