असार–२६, सुरक्षित आप्रबासन परियोजना सुचना केन्द्र खोटाङले बैदेसिक रोजगारका ३४ वटा मुद्धालाई किनारा लगाएको जनाएको छ । 
जनसेवा समाज नेपालको कार्यालयमा मंगलबार समिक्षा बैठकको आयोजना गरी परियोजनाले २०६८ साल असोज यता बैदेसिक रोजगार सम्वन्धी ७४ वटा मुद्धा दर्ता भएकोमा ३४ वटा मुद्धालाई सफलताकासाथ किनारा लगाएको जानकारी दिएको हो । 
सुरक्षित आप्रबासन परियोजना सुचना केन्द्रका संयोजक भक्त राईका अनुशार सुचना केन्द्रमा सबैभन्दा बढि ठगीका मुद्धा दर्ता भएका छन् । ठगीका २३ वटा मुद्धा दर्ता भएकामा परियोजनाले ११ वटा मुद्धामा पिडितलाई क्षतीपूर्ती दिलाएका छन् । 
यस्तै, बेपत्ता सम्वन्धी २८ वटा मुद्धा दर्ता भएकामा १२ जनाको खोजी तथा उद्धार गरिएको, १६ जना मृतकमध्ये ८ जनालाई क्षतीपूर्ती दिलाएको जनाएको छ । मेडिकल फेलका पाँच वटा मुद्धा दर्ता भएकामा तीन जनालाई क्षतीपूर्ती दिलाएको कार्यक्रम संयोजक राईले जानकारी दिनु भयो । दर्ता भएका अन्य कतिपय मुद्धाहरु कानूनी प्रकृयामा रहेको जनाइएको छ । 
यस्तै, लक्षभन्दा बढि ३ हजार ४ सय ७८ जनालाई परामर्श सेवा प्रदान गरेको, साप्ताहिक अभिमुखीकरण गोष्ठी सञ्चालन गरेको, बैदेसिक रोजगार सम्वन्धी होर्डिङबोर्ड राखेको, विद्यार्थी सचेतना कार्यक्रम सञ्चालन गरेको लगायतका प्रगती बिबरणका बारेमा पनि परियोजनाले जानकारी दिइएको छ । 
नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय, सामी हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपाल र जनसेवा समाज नेपाल जालपाले जिल्लामा परियोजना सञ्चालनमा ल्याएको हो । जिल्ला बिकास समितिका नायब सुव्वा नारायण खवासको अध्यक्षतामा सम्पन्न समिक्षा बैठकमा राजनैतिक दलका नेता तथा कार्यकर्ता, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको सहभागीता रहेको थियो ।