असार–३०, खोटाङमा चार दिन अघि ज्यान गुमाएका थुनुवाको आफन्तले शव जिम्मा लिएका छन् । 
जिल्ला बाहिरका चिकित्सक ल्याएर मानव अधिकारकर्मीको रोहबरमा पोष्टमार्टम गरिएपछि गत बुधबार ज्यान गुमाएका पाथेका–२ का १८ वर्षीय थुनुवा किरण राई ‘भुदेउ’को शव मृतकका आफन्तले शनिबार जिम्मा लिएका हुन् । 
मृतकका आफन्तको माग अनुशार स्वास्थ्य मन्त्रालयमार्फत आएका डा. युवराज पोखरेल र काठमाडौंबाट आएका राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि जीवन न्यौपानेको रोहबरमा चार दिनपछि शवको पोष्टमार्टम गरिएको हो । पोष्टमार्टम गरिएपछि मृतकको शव जिम्मा लिइएको आफन्त रञ्जिव राईले बताउनु भयो । 
पिडितपक्ष र प्रशासनबीच गत बिहिबार भएको सम्झौता अनुशार जिल्ला बाहिरका बिशेषज्ञ चिकित्सक ल्याएर मानव अधिकार आयोगका प्रतिनिधिको उपस्थितिमा शवको पोष्टमार्टम गरिएको अस्पतालले जनाएको छ । पोष्टमार्टमकाक्रममा मृतकको फोक्सोमा अधिक पानी जमेको देखिए पनि रिपोर्ट आएपछिमात्र मृत्युको कारण खुल्ने डा. युवराज पोखरेलले बताउनु भयो । 
राष्ट्रिय स्तरको उच्चस्तरिय छानबीन समिति गठन गरी घटनाका बिषयमा छानबीन गर्ने, जिल्लाभन्दा बाहिरका बिशेषज्ञ चिकित्सक ल्याएर पोष्टमार्टम गर्ने, दोषीको पहिचान गरी कारबाही गर्ने र पिडितलाई उचित क्षतीपूर्तीको व्यवस्था गर्नुपर्ने शर्तमा मृतकका आफन्त पोष्टमार्टम गर्न तयार भएका थिए ।
प्रहरीको कुटपिट र यातनाबाट भुदेउको ज्यान गएको भन्दै उसका आफन्तले जिल्लाभन्दा बाहिरका बिशेषज्ञ चिकित्सक ल्याएर मानव अधिकारबादीको उपस्थितिमा पोष्टमार्टम गर्ने अडान लिएका थिए । जिल्लाका प्रशासन, प्रहरी र अस्पतालको मिलेमतोमा हुने पोटमार्टममा बिश्वास गर्न नसकिने उनीहरुको अडान थियो । 
यसैबीच, थुनुवाको मृत्यू भएको घटनाका बिषयमा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान थालेको छ । आयोगका प्रतिनिधि जीवन न्यौपानेले घटनाका पिडित, प्रशासन, प्रहरी, राजनैतिक दल, स्थानीयबासी लगायतलाई भेट गरी घटनाका बिषयमा अनुसन्धान थाल्नु भएको हो । 
हत्याको आरोपमा गत जेठ–२८ गते पक्राउ परेका राईको बुधबार ज्यान गएको थियो । जिल्ला अदालतले गत आइतबार पुर्पक्षकालागि थुनामा राख्ने आदेश दिइएका राईको निमोनियका कारण ज्यान गएको प्रहरीको दाबी छ । यद्यपी, मृतकका आफन्तहरुले भने प्रहरीको शारिरीक यातनाबाट राईको ज्यान गएको दाबी गर्दै आएका छन् ।