साउन–४, खोटाङ सेवा समाज काठमाडौंले महिना दिनअघि ओखलढुंगाको सोक्माटारमा भएको बस दुर्घटनामा परी घाईते भएकाहरुको उपचारकालागि आर्थिक सहयोग गरेको छ । 
समाजले गत जेठ–१९ गते थाक्ले–८ सोक्माटारमा भएको बस दुर्घटनामा घाइते भइ बिभिन्न अस्पतालमा उपचार गराइरहेका घाइतेहरुको उपचारकालागि आर्थिक सहयोग गरेको हो । 
आफ्नो गृह जिल्ला खोटाङको हलेसीबाट ओखलढुंगातर्फ जानेक्रममा भएको दुर्घटनामा परी जिल्ला तथा जिल्लाबाहिरका यात्रुहरु घाईते भएको भन्दै समाजले नैतिकरुपमा बुधबार ८५ हजार सहयोग गरेको जनाएको छ । हाल काठमाडौंको बीर अस्पतालमा उपचार गराइरहेका ओखलढुंगा दियाले–९ का खिलप्रसाद ढुंगाना, हेटौडा छतिवनकी जानुका राई, खोटाङको नेर्पाकी कला गुरुङ र धनकुटाका अजित राईलाई उपचार खर्च प्रदान गरिएको खोटाङ सेवा समाज काठमाडौंका अध्यक्ष राकेश राईले जानकारी दिनु भयो । 
दुर्घटनापछि उपचार गराइरहेका गम्भीर प्रकृतिका घाईतेहरुको उपचारकालागि समाजले राजधानी काठमाडौंमा आर्थिक संकलन गरी आफन्तहरुलाई प्रदान गरिएको समाजका सचिव बाजिन्द्र बिष्टले बताउनु भयो । 
हलेसीबाट ४५ यात्रु लिएर ओखलढुंगाको हर्कपुरतर्फ जाँदै गरेको बा २ ख ९४५५ नम्बरको बस सोक्माटारमा दुर्घटना हुँदा एक जनाको घटनास्थमै र तीन जनाको उपचारकालागि उदयपुरको कटारीतर्फ लैजाँदै गर्दा बाटोमा ज्यान गएको थियो, भने आधा दर्जनभन्दा बढि यात्रुहरु घाइते भएका थिए । 
घाइतेहरुको उपचारकालागि राजधानीमा रहेका खोटाङबासी एवं शसस्त्र प्रहरीका पुर्वमहानिरिक्षक सनतकुमार बस्नेतले २५ हजार, कांग्रेसका महासमिति सदस्य नरेशकुमार श्रेष्ठले दश हजार, सरस्वति बजीमयले पाँच हजार, डा. बिष्णु राईले पाँच हजार, मणीकुमार राईले तीन हजार लगायतका सहयोग गर्नु भएको समाजले जनाएको छ ।