साउन–१२, बिरामीको संख्या एक्कासी बढेसँगै जिल्ला अस्पताल खोटाङमा शैँयाको अभाव भएको छ । 
ज्वोरा आउने, हातगोडा दुख्ने, झाडापखाला लाग्नेजस्ता लक्षण देखा परेका बिरामीहरुको संख्या बढेपछि भुँइमा राखेर उपचार गर्न बाध्य भएको अस्पताल श्रोतले जनाएको छ । 
१५ शँैयाको अस्पतालमा दैनिकजसो झण्डै दुई सय बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल खोटाङका डाक्टर तुलसी भटराईले बताउनुभयो । उपचारका लागि अस्पताल आउने बिरामीहरु टाईफाईडको रोगी भएको डाक्टर भटराईको भनाइ छ । डाक्टर भटराईका अनुसार फोहोर पानी प्रयोग गरेका कारण यस्तो रोग देखा परेको हो ।
दिनानुदिन बिरामीको चाप बढेसँगै अस्पताल नजिकका बिरामीहरुलाई घरबाटै धाउन आग्रह गरिएको डाक्टर भटराईले बताउनुभयो । अस्पताल श्रोतका अनुसार शैँयाको अभाव भएपछि गम्भिर किसिमको बिरामी बाहेक अन्यलाई बाहिरै राखेर उपचार गरिँदै छ ।
मौषम परिवर्तनसँगै बिरामीको संख्या बढेपछि शुक्रबार बिहान मात्रै सात जना बिरामीलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । अस्पताल भर्ना हुने बिरामीको संख्या बढेपछि गम्भिर बिरामी बाहेकका बिरामीलाई डिस्चार्ज गरिएको हो ।  
शैँया अभावमा बिरामीलाई उपचार गर्न समस्या भएको जनगुनासो आउँदा समेत स्तरोन्नतीमा कसैको ध्यान नगएको प्रति सर्वसाधारणले दुखेसो व्यक्त गरेका छन् । जिल्लाको एक मात्र अस्पताल त्यसमा पनि १५ शैँया मात्र भएपछि तत्काल स्तरोन्नतीको लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने उपभोक्ताको माग छ ।