साउन -१४, खोटाङका महिला अधिकारकर्मीहरुले जिल्लाका दुई जना बलात्कारीलाई कारबाहीको माग गरेका छन् ।

जिल्लाका १२ भन्दा बढि संघसंगठनमा आवद्ध महिला अधिकारकर्मीहरुले बुईपाका एक युवतीलाई जबरजस्ती करणी गर्ने दिक्तेल–४ का पर्शु आचार्य र दोर्पाचिउरीडाँडाका एक महिलालाई बलात्कार गर्ने दोर्पाचिउरीडाँडा–३ का प्रेमबहादुर पाण्डेलाई कडाभन्दा कडा कारबाही गर्न प्रशासन समक्ष माग गरेका हुन् ।

निमित्त प्रमुख जिल्ला अधिकारी तिलकराम पोखरेललाई आईतबार ज्ञापनपत्र बुझाउँदै उनीहरुले बलात्कारका आरोपित आचार्य र पाण्डेलाई कडा कानूनी कारबाही गर्न आग्रह गरेका छन् । महिला अधिकारकर्मीहरुले अपराधलाई ढाकछोप गर्दै दोषीलाई बचाउने प्रपञ्च शुरु गरिएको भन्दै प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

बुईपाबाट एसएलसिको पूरक परीक्षा दिनकालागि सदरमुकाम दिक्तेलतर्फ जानेक्रममा पर्शु आचार्यले जानुका नाम गरेकी युवतीलाई बाटोमा गत शुक्रबार जबरजस्ती करणी गरेको महिला अधिकारकर्मीहरुले बताएका छन् ।

यस्तै, दिक्तेलबाट दोर्पाचिउरीडाँडा जानेक्रममा मायाँ नाम गरेकी महिलालाई प्रेमबहादुर पाण्डेले शुक्रबार स्थानीय काउले सामुदायीक बनमा जबरजस्ती बलात्कार गरेको महिला मानव अधिकार रक्षक सञ्जाल खोटाङकी अध्यक्ष पूर्णमायाँ तामाङले बताइन् । बलात्कारमा संलग्न आचार्य र पाण्डेलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

नाताले ससुरा पर्ने पाण्डेले जबरजस्ती करणी गरेपछि हत्या गर्न लागेकोबेला भीरबाट हामफालेर मायाँले ज्यान बचाएको महिला अधिकारकर्मीहरुले बताएका छन् । आफ्नै छोरा बीरबहादुर पाण्डेसँग बिवाह गरेका मायाँलाई प्रशासनबाट एक महिनाभित्रमा नागरिकता दिने शर्तपछि घर फर्कनेक्रममा पाण्डेले बलात्कार गरेको पिडितको भनाई छ ।

नौ वर्षीय छोरी समेत भएका बीरबहादुर पाण्डेले बिवाह भएको चार वर्षपछि उदयपुरमा दोश्रो बिवाह गरी बस्दै आएका छन् । श्रीमानले दोश्रो बिवाह गरेर बसेपछि मायाँले विबाह दर्ता, बच्चाको जन्मदर्ता तथा नागरिकताकालागि दाबी गर्दै आउनु भएको छ ।

महिला अधिकारकर्मीहरुले निमित्त प्रमुख जिल्ला अधिकारी पोखरेलमार्फत बलात्कारीलाई एक–एक वटा खुर्सानीको प्रतिकात्मक माला हस्तान्तरण गरेका छन् । ‘यस्ता घटनाहरुमा पिडित नै थप पिडित हुने गरेका छन् ।’ अधिकारकर्मी महिलाहरुको संयुक्त हस्ताक्षर रहेको ज्ञापनपत्रमा भनिएको छ,–‘त्यही भएर दोषीलाई कडाभन्दा कडा कारबाही गर्न जोडदार माग गर्दछौँ ।’