साउन–१९, खोटाङमा उमेर बढाएर राहदानी बनाउन आएकी एक बालिकालाई घर फिर्ता पठाइएको छ । 
बिदेश जानकालागि उमेर बढाएर राहदानी बनाउन सदरमुकाम दिक्तेल आएकी लिच्कीराम्चे–८ की १६ वर्षीया मेनुका परियारलाई घर फर्काइएको हो । उमेर बढाएर २० वर्ष पुगेको नागरिकता बनाएपछि शंकास्पदरुपमा राहदानी बनाउन सदरमुकाम आएकी परियारलाई शुक्रबार सम्झाई–बुझाई घर फर्काइएको हो । 
कक्षा–८ मा पढ्दै गरेकी मेनुका घरेलु कामकालागि कुवेत जाने भन्दै गाईघाट ठेगाना बताउने चक्र परियारका साथमा सदरमुकाम आउनु भएको थियो । उहाँलाई खोटाङमा सञ्चालित सुरक्षित आप्रबासन परियोजना सुचना केन्द्र तथा स्थानीय युवा नेताहरुले सम्झाई बुझाई घर फिर्ता पठाएको हो । 
कुवेत जानेमा शंका लागेपछि मेनुकालाई सम्झाई बुझाई घर फर्काइएको सुरक्षित आप्रबासन परियोजना सुचना केन्द्रका कार्यक्रम संयोजक भक्त राईले बताउनु भयो । 
मेनुकाले दुई वर्ष अघिदेखि आफ्नो बुवा डिकबहादुर परियार कुवेतमा काम गर्दै आएको र बुवाकै सल्लाहमा काकीकासाथमा कुवेत जानकालागि राहदानी बनाउन आएको बताएको सुचना केन्द्रले जनाएको छ । 
तर, डिकबहादुर भने गाउँमै सिलाई कटाईका पुर्खौलीका काम गर्दै आउनु भएको छ ।