साउन–२०, शिक्षण पेशा छाडेर खोटाङकी एक महिलाले तरकारी खेती सुरु गर्नुभएको छ । 
बाक्सिला–४ की दीर्घसरा राईले तत्कालिन नेकपा माओवादीको जनयुद्धको समयमा शिक्षण पेशा छाडेर तरकारी खेती सुरु गर्नुभएको हो । 
२०६५ सालबाट सुरु गर्नुभएको तरकारी खेतीबाट वार्षिकरुपमा करिब दुई लाखसम्म कमाइ गर्ने गरेको उहाँले बताउनुभएको छ । एक छोरा र तीन छोरीकी आमा दीर्घसराले तरकारी खेतीबाट आएको आम्दानीले बालबच्चाको पठनपाठनका साथै घर खर्च समेत धान्नुभएको छ । आफूले उत्पादन गरेको तरकारी स्थानीय बाक्सिला बजारमा बिक्री गर्ने गरेको उहाँले जानकारी दिनुभएको छ । 
उहाँले काउली, बन्दा, गोलभेडा, प्याज, बैगुन, आलुलगायतका तरकारी खेती गर्नुभएको छ । ४४ वर्षीया दीर्घसराले सुन्तला, निभुवा, ज्यामिरलगायतका फलफूल खेती समेत सुरु गर्नुभएको छ । यस्तै, आलुको बियाँबाट टिपीएस आलुको बीउ समेत उत्पादन गर्ने गरेको दीर्घसराले बताउनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘आफूले खेती नगर्दा सोलुखुम्बुसम्म आलुको बीउ लिन जानुपथ्र्यो, तर अहिले आफ्नै घरमा प्रशस्त मात्रामा टिपीएस आलुको बीउ उपलब्ध छ ।’
जिल्ला कृषि विकास कार्यालय र जिल्ला शिक्षा कार्यालयको प्राविधिक सहयोग पाएपछि आफूले तरकारी खेती सुरु गरेको उहाँको भनाइ छ ।