साउन २० । खोटाङको रसुवा–कालापानी–खोटाङबजार सडकको रुट परिवर्तनको माग गर्दै आएका सर्वसाधारणलाई आफ्नो मागबाट पछि हट्न आग्रह गरिने भएको छ ।

स्वीस सरकारको सहयोगमा निर्माण गर्न लागिएको सो सडकको रुट परिवर्तनको माग गर्दै आएका सिमपानीका सर्वसाधारणलाई रुट परिवर्तनको मागबाट पछि हट्न आग्रह गरिने भएको हो ।

जिल्ला बिकास समितिको सभाहलमा आइतबार बसेको स्वीसका प्रतिनिधि, जिल्ला सडक सहयोग कार्यक्रम (डिआरएसपी), जिल्ला बिकास समिति, केही दलका प्रतिनिधि सम्मिलित बैठकमा रुट परिवर्तनको माग नगर्नका लागि उनीहरुलाई आग्रह गर्ने निर्णय भएको हो ।

सडक निर्माणको जिम्मा लिएका जिल्ला सडक सहयोग कार्यक्रम (डिआरएसपी) तथा जिल्ला बिकास समितिका प्रतिनिधिले सडकको रुट परिवर्तन गर्न नमिल्ने प्रावधानका बिषयमा स्पष्ट पारेपछि रुट परिवर्तन गर्नुको सट्टा स्थानीयबासीलाई गाउँमै पुगेर ‘कन्भिन्स’ गर्ने निर्णयमा पुगिएको बैठकमा सहभागीहरुले बताएका छन् ।

बैठकमा उनीहरुको मागलाई पनि सम्बोधन गर्नेगरी दुबै सडकलाई एकै समयमा निर्माण गर्नकालागि पहल गर्ने बिषयमा छलफल भएको बैठकमा सहभागी नेकपा एमाले खोटाङका अध्यक्ष बिशाल भट्टराईले जानकारी दिनु भयो । यसकालागि बैठकले बुधबारदेखि शुक्रबारभित्रमा सर्वपक्षीय टोली गाउँमै जाने निर्णय गरेको छ ।
जिल्लाको महुरे–फोक्सिङटार सडक निर्माणकाक्रममा उब्रिएको करिब २७ करोड रकमबाट रसुवा–कालापानी–खोटाङबजार सडक निर्माणको तयारी गरिएको हो । सिमपानीबासीले निर्माण गर्न लागिएको रसुवा–कालापानी–खोटाङबजार सडकको रुट परिवर्तन गर्दै रसुवा–सिमपानी हुँदै खोटाङबजार जोड्न माग गर्दै आएका छन् ।

पछिल्लो समय रुट परिवर्तनकै बिषयमा पार्टीगतरुपमा बिवाद चर्किएको कांग्रेस नेता भुवन श्रेष्ठले बताउनु भयो । सडकको रुट परिवर्तन गर्ने र नगर्ने विषयमा गत शुक्रबार जिल्ला बिकास समिति समक्ष छुट्टा–छुट्टै ज्ञापनपत्र बुझाइएको थियो ।