साउन २३ । खोटाङमा एसएलसी पुरक परीक्षामा चिट चोराउने एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आजको गणित विषयको परीक्षामा चिट चोराउँदै गर्दा सावाकाली माध्यमिक विद्यालय सावाकटहरेका शिक्षक उपेन्द्र पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सदरमुकाम दिक्तेलस्थित सरस्वती उच्च मावि केन्द्र दिक्तेलमा सोही विद्यालयकी एक छात्रालाई चिट चोराउँदै गर्दा शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक दुर्गा रेग्मीले जानकारी दिनुभयो ।

शिवहरि ढकाल केन्द्राध्यक्ष रहेको केन्द्रमा परीक्षा सुरु भएको केही समयपछि चिट चोराउँदै गर्दा शिक्षक पोखरेललाई आफूहरूले नियन्त्रणमा लिएको निरीक्षक रेग्मीको भनाइ छ ।

प्रहरी नियन्त्रणमा परेका पोखरेललाई विभागीय कारबाही गरिने जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरेले जानकारी दिनुभयो । परीक्षामा चिट चोर्ने र चोराउनेलाई एक लाखसम्म जरिवाना र दुई वर्षसम्म जेल सजाएको कानुनी प्रावधान छ । रासस