साउन–२४, जिल्ला अस्पताल खोटाङमा सञ्चालित टेलिमेडिशिएन सेवा दश महिनापछि सञ्चालनमा आएको छ । दक्ष जनशक्तिको अभावमा गत असोदेखि अवरुद्ध बनेको टेलिमेडिशिएन सेवा सुचारु भएको हो । 
लामो समय अवरुद्ध बनेको टेलिमेडिशिएन सेवा सुचारु भएपछि जटिल किसिमको बिरामीको स्वस्थ्य परीक्षण पनि अस्पतालबाटै गर्न थालिएको अस्पतालका डाक्टर नवकिशोर झाले बताउनुभयो । तत्कालका लागि सिनियर अहेव योगेन्द्र सेठलाई तालिम दिलाएर अवरुद्ध सेवा सञ्चालनमा ल्याइएको डाक्टर झाको भनाइ छ । 
टेलिमेडिशिएन सेवा अवरुद्ध बनेपछि अस्पतालमा आउने बिरामीहरुलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सेवा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । सेवा सुचारु भएसँगै जिल्लाका तीनजना बिरामीको परीक्षण गरिएको जनाइएको छ । 
उपचारका लागि जिल्ला अस्पताल आएका जटिल किसिमको बिरामीलाई टेलिमेडिशिएन सेवा मार्फत पाटन अस्पतालका दक्ष डाक्टरको सल्लाह अनुसार उपचार गर्ने गरिएको छ । जिल्लामा रहेर दक्ष स्वास्थ्यकर्मीको सल्लाह अनुसार नै उपचार गराउन पाएपछि आफूहरुलाई पनि सहज भएको सेवाग्राहीको भनाइ छ । 
पाँच वर्षअघि जिल्लामा टेलिमेडिशिएन सेवा सञ्चालनमा ल्याइएको थियो । पहाडी जिल्लाको सर्वसाधारणका लागि लक्षितगरि सञ्चालनमा ल्याइएको उक्त सेवा अवरुद्ध भएपछि अस्पतालबाट रेफर गरिएका बिरामीहरुलाई चर्को मुल्यमा हेलिकोप्टर चार्टर गरेर उपचारका लागि अन्यत्र लानुपर्ने बाध्यता थियो ।