दृष्टिकोण
थाई एयरवेजले ३३५ डलर (करिब ३० हजार) मा काठमाडौं बैकक राउण्ड टिकटको अफर गरिरहँदा हामीले हिडेर १० दिनमा बल्ल सम्पन्न गर्न सकिने मुस्ताङ र नाम्चे घुम्न पर्यटकहरुलाई सक्दो उत्प्रेरणा दिइरहेकाछौं, जबकी काठमाडौंबाट बैंकक आज गएर भोली फर्कन सकिन्छ ।
लेखक: वागमान कुलुङ
दैनिक विश्का १९५ देशका १३२८ एयरपोर्टहरुमा, २१,९०० उडान भरी हवाई ब्यापार गर्ने २८ वटा विमान कम्पनीहरुको संगठन स्टार सञ्जालमा थाई एयरवेजको ठुलो हिस्सा छ । उसले सो सञ्जालहरुमार्फत संसारभरीका पर्यटकहरु आफ्नो देशमा सस्तोमा थुपार्छ । हाम्रो नेपाल एयरलाइन्सले दैनिक ५ वटा देश (थाइल्याण्ड, भारत, दुबई, हङकङ र मलेशिया) मा उडान भर्छ । यो विश्व पर्यटन बजारमा नेपालले गरिरहेको प्रतिष्पर्धाको एउटा उदाहरण मात्र हो । हामी यी विश्व पर्यटन बजारको प्रतिष्पर्धात्मक वातावरण भित्र रहेर यहाँको प्राकृतिक, धार्मिक, साँस्कृतिक र ऐतिहासिक पक्षहरुको सकारात्मक प्रचार गरी सक्दो पर्यटन उद्योग चलाईरहेका छौ, पर्यटकहरु बोलाइरहेका छौ । कहिले हामी पर्यटन वर्षको पोष्टर भित्ताभरी टास्छौ, कहिले होमस्टे चलाउछौ, गुम्बा, मठ मन्दिर आदिको विज्ञापन दिन्छौ । जे होस जसो तसो हाम्रो पर्यटन व्यवसाय चलिरहेको छ । यो विश्व बजारको विश्लेषण गरेर वा नगरी अथवा जानेर वा नजानी ‘नयाँ नेपालको आधार पर्यटन’ पनि भनिरहेका छौ ।
खासगरी हामीसंग संसारभरी कमै पाईने भौगोलिक अवस्था, यहाँका जातीय र साँस्कृतिक विविधता आदिले छुट्टै महत्वको पर्यटकीय गन्तव्य स्थलहरु भए पनि किन विश्व बजारमा प्रतिष्पर्धा गर्न सकिरहेका छैनौं ? यसको प्रमुख कारण यहाँ पुग्ने सहज पहँचको अभाव नै हो । सहज पहँचको अभावको पछाडी आर्थिक र भौगोलिक कठिनाइ प्रमुख छन् । हाम्रो प्रमुख हिमाली पर्यटकीय क्षेत्र दोलखाको तामाकोशी उपत्यकादेखि पूर्बको अरुण उपत्यकासम्मको भौगोलिक अवस्था हेर्ने हो भने त्यस बीचमा तामाकोशी, खुम्बु, इङखु, हुंगा र अरुण उपत्यका गरी ५ वटा उपत्यकाहरु रहेका छन् । तर भौगोलिक कठिनाइको कारणले ति सबै उपत्यकाको भ्रमण गर्न हिमाल आरोहण गर्न नसक्ने पर्यटकहरुलाई करिब ३ महिनाभन्दा बढी लाग्दछ ।
दोलखाको चरिकोटबाट सिंगटी, जगत, छो–रोल्पा ताल हुदै गौरीशंकर हिमालको आधारशिविर पुगिन्छ । उक्त ठाँउबाट खुम्बु उपत्यकाको थामे निक्कनको लागि कम्तिमा ५,७०० मिटर उचाई रहेको टासिलाप्चा भञ्ज्याङ पार गर्नुपर्ने हुन्छ, जुन हिमाल आरोहण गर्न तालीम प्राप्त ट्रेकरहरुले मात्र पास गर्न सक्छन् अथवा पर्यटकहरु जो कोहीले त्यो भञ्ज्याङ पार गर्न सक्दैनन् । यस्तो अवथामा उनीहरु जुन भञ्ज्याङभित्रको हिमालय श्रृखलाहरुको द«ष्यावलोकन गरेर गएका हुन्छन् त्यही श्रृखलाहरुको दोहोरो अवलोकन गर्दै चरिकोट फर्कनुपर्ने बाध्यता छ ।
त्यसपछि उसलाई खुम्बु उपत्यका पस्न इच्छा भए जिरी, लुक्ला, नाम्चे भएर थामे पुग्नुपर्ने हुन्छ, जसको लागी उसले कम्तिमा थप २२ दिन खर्चनुपर्ने हुन्छ । थामेबाट छिकुङसम्मका खुम्बु उपत्यका भित्रको सयौ हिमश्रृखलाहरुको द«ष्यावलोकन गरेर फेरी त्यही पर्यटकले सेतीपोखरीहुदै हुंगा उपत्यका भित्र प्रवेश गरेर बरुञ्जे, मेरा, चाम्लाङ जस्ता दर्जनौ चर्चित हिमालहरुको दृष्यावलोकन गर्नु परे उसले अर्को ५,८०० मिटर उचाईको आम्फुलाप्चा भञ्ज्याङ पार गर्नुपर्ने हुन्छ । त्यो पनि टासिलाप्चा जस्तै सबै पर्यटकहरुको पहुँचमा छैन । उसले सो भञ्ज्याङ पार गर्न नसके थप एक महिना लगाएर नाम्चे, लुक्ला, कोठे, नौलेख, खहरे हदै त्यस भञ्ज्याङभित्र प्रवेश गर्नुपर्ने हुन्छ । सोही तरिकाले हुंगा उपत्यकाको सेतीपोखरीबाट अरुण उपत्यका प्रवेश गर्न ६,१३५ मिटर उचाईको शेर्पेनीकोल भञ्ज्याङ र इङ्खु उपत्यका प्रवेश गर्न ५४१५ मिटरको मेराला पास गर्नुपर्ने हुन्छ । संसारको बिख्यात हिमालहरु त्यही ५ वटा उपत्यकाभित्र रहे पनि त्यसको अवलोकन गर्न सहज पहुँचको अभाव छ ।
खुम्बु उपत्यकाबाट ५८०० क्रस गरेर हंगा उपत्यका प्रवेश गरेपछि पुगिने बरुञ्जे आधारशिबिर

भोजपुरको साल्पादेखि शिलिछो हुदै बरुञ्जे आधारशिविर जाने प्रस्तावित नयाँ पदमार्ग अन्र्तगतको पर्वतीय श्रृखलाहरु, पृष्ठभूमिमा स्थानीय भेषभुषामा एक युवती

यस भौगोलिक कठिनाइहरुलाई सहज बनाइ बढी भन्दा बढी पर्यटकहरुलाई हिमालतिर आकर्षित पार्न १० वर्ष लाग्ला, २० वर्ष लाग्ला हामीले दोलखाको टासिलाप्चा भञ्ज्याङ, सोलुखुम्बुको आम्फुलाप्चा भञ्ज्याङ र संखुवासभाको शेर्पेनीकोल भञ्ज्याङमा ३ वटा हिमाली केबलकारको विकास गर्न सके काठमाडौंबाट बसमा दोलखाको छो–रोल्पा पुग्ने विदेशीहरुले टासिलाप्चा, थामे, नाम्चे, छिकुङ, सेतीपोखरी, मकालु आधारशिविर हुदै करिब २ हप्तामै संसारको बिख्यात हिमालहरुको अवलोकन गरी संखुवासभाको तुम्लिङटार पुग्नेछन् । यसले नेपालको पर्यटन विकासलाई संसारको अन्य पर्यटकीय गन्तव्यसंग सजिलै प्रतिष्पर्धामा लग्नेछ ।

भोजपुरबाट प्रस्तावित नयाँ पदमार्गहुदै सेतीपोखरी भञ्याङ पुगेपछि प्रस्तावित हिमाली केबलकार मार्फत आम्फुलाप्चा क्रस गर्न सके त्यसपछि पुगिने पहिलो गाँउ फोर्चेटाङगा । त्यहाँबाट सगरमाथा ३ क्याप्पमा सगरमाथा पुगिन्छ ।

सरकारले राष्ट्रिय गौरवको आयोजनामा यस्ता हिमाली उपत्यका जोड्ने केबलकारहरुको विकास गर्न जरुरी छ । तर हामीले सो हिमाली केबलकारको विकास गर्न नसके त्यो समस्या हाम्रो मात्र हो, विदेशी पर्यटकहरुको होइन उसले त युरोप बसेर आफ्नो समय र पैसाले जहाज र रेलमा थाइल्याण्ड गई सेतो हात्ती चढ्ने कि नेपाल गएर होमस्टे गर्ने तुलनात्मक अध्ययन गर्छ र आफ्नो फाइदामा लगानी गर्छ ।
                                                                         वागमान कुलुङ
                                                                   छेस्काम ३, सोलुखुम्बु