साउन–२६, आन्तरिक तथा वाह्य पर्यटकहरुलाई लक्षित गरेर खोटाङको सदरमुकाम दिक्तेलमा सुविधा सम्पन्न गेष्ट हाउस सञ्चालनमा ल्याइएको छ ।
जिल्ला भित्रने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सहजरुपमा खाना तथा बासको व्यवस्था मिलाउने उद्देश्यले एभरेष्ट गेष्ट हाउस सञ्चालनमा ल्याइएको हो ।
विशेष गरेर वाह्य पर्यटकहरुका लागि लक्षित गरेर सञ्चालनमा ल्याइएको गेष्ट हाउसमा फ्लोर एट्याच ट्वाईलेट तथा वाथरुमको व्यवस्था छ । जिल्लाका अन्य होटलहरुमा व्यवस्थित ट्वाईलेट तथा वाथरुमको व्यवस्था नभएका कारण जिल्लामै पहिलो सुविधा सम्पन्न गेष्ट हाउस सञ्चालनमा ल्याइएको गेष्ट हाउस सञ्चालक दिलचक्र राईले जानकारी दिनुभयो ।
खोटाङको सदरमुकाम दिक्तेलमा आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षितगरि भर्खरै सञ्चालनमा ल्याइएको एभरेष्ट गेष्ट हाउस । तस्बिरः केदार मगर
सदरमुकाम दिक्तेलस्थित सरस्वति उच्च माविको पछाडिपट्टी रहेको गेष्ट हाउसमा स्थानीयस्तरमा उत्पादित स्तरीय खानाको व्यवस्था मिलाइएको अर्का सञ्चालक हरिबोल आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबारबाट सञ्चालनमा ल्याइएको गेष्ट हाउसमा ईमेल÷ईन्टरनेटको समेत सुविधा छ ।
वातावरणीय हिसाबले पनि एकान्त स्थानमा रहेको गेष्ट हाउस आउनेजाने गेष्टहरुका लागि पार्किङको समेत व्यवस्था छ । खोटाङ पर्यटकीय क्षेत्रको प्रयाप्त सम्भावना हुँदाहुँदै पनि भौगोलिक बिकटता र सुविधा सम्पन्न गेष्ट हाउस नभएका कारण आन्तरिक तथा वाह्य पर्यटक भित्रन सकिरहेको छैन ।