साउन–३०,  खाने र बस्ने राम्रो सुविधा नहुँदा खोटाङमा लोक सेवा आयोगको परीक्षा दिन आएका परीक्षार्थीहरु समस्यामा परेका छन् । 
सदरमुकाम दिक्तेलमा खाने, बस्ने होटल र कोठाको सुविधा नहुँदा स्वास्थ्य सेवा अन्तर्गत अहेव र अनमीको परीक्षा दिन आएका परीक्षार्थीहरु समस्यामा परेका हुन् । 
परीक्षार्थीका चापले बजारमा खचाखच भएका छन् भने, आसपासका गाँउमा समेत कोठा पाउन मुस्किल परेको परीक्षार्थीहरुले बताएका छन् । बजारमा कोठा नपाएपछि करिब डेढ घण्टाको उकालो बाटो मुडे फर्कनु परेको र त्याहाँ पनि राम्रो सुविधा नभएको परीक्षार्थीहरुको गुनासो छ । 
राम्ररी बजारको व्यवस्थापन नभई लोक सेवा आयोगको परीक्षाका लागि केन्द्र बनाइनुले यस्तो समस्या आएको हो । विशेष गरेर बाहिरी जिल्लाबाट आएका परीक्षार्थीहरुको बिचल्ली नै भएको छ ।
परीक्षार्थीको चाप बढेसँगै १ छाक सादा खानाको १ सय ५० तिर्नुपर्ने र कोठाको लागि १ हजार ५ सयदेखि ३ हजारसम्म तिरेर बस्नुपर्ने बाध्यता रहेको स्याङजाबाट आएका अहेवका परीक्षार्थी भरत धितालले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘मौकामा त चौका नै हान्दो रहेछ नी ।’
१ सय ९२ जना अहेवको कोटाका लागि ६ हजार  ५७ जना र ८५ जनाको अनमी कोटाको लागि १ हजार ८ सय ३० जनागरि जम्मा ७ हजार ८ सय ८७ जनाले फर्म  भरेको आयोगका खरिदार भगत आचार्यले जानकारी दिनुभयो । देशभरकै बढी संख्यामा कोटा रहेकाले खोटाङमा परीक्षा दिन आउनेको संख्या बढेको आचार्यको भनाइ छ । 
आयोगका अनुसार कैलाली, स्याङजा, बुटबल, कास्की, सुर्खेत, बाजुरा, दाङलगायतका परीक्षार्थीहरु खोटाङ आएका छन् । खोटाङबाटै परीक्षा दिन पूर्वका झापा, इलाम, पाँचथर, ताप्लेजुङ त्यस्तै तराईका जिल्लाहरु महोत्तरी, सर्लाही, सिरहा, सप्तरी, सुनसरी, मोरङलगायतका जिल्लाबाट परीक्षार्थी सदरमुकाम दिक्तेल आएका छन् ।
भोली साउन–३१ गते अनमी र भदौ–१ गते अहेवको परीक्षा सञ्चालन हुँदै छ ।