साउन–३०, नेपाल सरकारले सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि निशुल्क शिक्षा लागू गरेपनि खोटाङमा चर्को शुल्क लिने गरेको पाइएको छ । 
कक्षा–१ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीका लागि निशुल्क शिक्षा लागू गरेपनि विद्यार्थी भर्ना, परीक्षा र विविध शिर्षकमा चर्को शुल्क लिने गरेको पाइएको हो । 
विद्यालय सञ्चालनका लागि अन्य कुनै विकल्प नभएका कारण विद्यालय विकासका लागि भनेर सामान्य शुल्क लिने गरेको विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले स्वीकार गरेका छन् । उनीहरुका अनुसार कक्षा–६ देखि १० सम्मका विद्यार्थीबाट शुल्क लिने गरिएको छ । 
आफ्नो विद्यालय प्रस्तावित मात्र भएकाले आफूहरुले पनि शुल्क लिने गरेको छितापोखरीस्थित धिप्लुङ माविका प्रधानाध्यापक नरेन्द्र राईले बताउनुभएको छ । भर्खरै मावि सञ्चालनमा आएको विद्यालयमा शिक्षक कोटा नभएकाले विद्यार्थीबाट शुल्क लिने गरेको उहाँको भनाइ छ । 
यस्तै, याम्खास्थित महेन्द्रोद्धय माविमा विद्यार्थी अनुस्थित भएबापतको समेत प्रति विद्यार्थी दैनिक ५ रुपैयाँ लिने गरेको अभिभावका राजु मुग्रातीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयका ६७ जना दलित विद्यार्थीका अभिभावकले विद्यालयको यो निर्णयलाई बिरोध जनाएका छन् । 
विद्यार्थीहरुलाई नियमित विद्यालय उस्थिती गराउँने उद्देश्यले स्थानीय बालमञ्चले उठाउने गरेको प्रधानाध्यापक कबिन्द्र राईले बताउनुभयो । अभिभावकबाट असन्तुष्टी आएमा तत्कालै हटाउन सकिने पनि उहाँले जानकारी दिनुभयो ।
उक्त विद्यालयले कक्षा–६ मा पढ्ने विद्यार्थीबाट प्रति विद्यार्थी परिचयपत्रको ५० सहित २ सय ५० रुपैयाँ लिने गरेको उनीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार कक्षा–७ मा २ सय ७५, ८ मा ३ सय, ९ मा ३ सय २५ र कक्षा–१० मा ३ सय ५० रुपैयाँ लिने गरेको छ ।
यो त जिल्लाका सरकारी विद्यालयमध्येको एउटा उदाहरणमात्र भएको अभिभावकहरुले दावी गरेका छन् । उनीहरुका अनुसार जिल्लाका अन्य विद्यालयले अझ बढि शुल्क लिने गरेको पाइएको छ ।  
उता, यसबारेमा आफूकहाँ उजुरी नआएकाले श्रोत व्यक्तिहरुको बैठकमार्फत सोधपुछ गरेर कडाइका साथ कारबाहीको प्रक्रिया अगाडि बढाउने जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरेले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘कुनै पनि सरकारी विद्यालयले विद्यार्थीबाट शुल्क लिन पाउँदैन, यदि त्यस्तो भए कारबाहीको प्रक्रिया अगाडि बढाइने छ ।’